विराटनगरको ताजुल मदरसाका शिक्षक/शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन्

११ माघ २०७७, आईतवार

विराटनगर, ११ माघ । बिराटनगर १३ मा रहेको ताजुल ईस्लाम नमुना आधारभुत विद्यालय मदरसाका प्रधानाध्यापक मो. जाबेद र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हैदर अलिबीचको विवादका कारण कार्यरत शिक्षक शिक्षिकाहरुले दुई वर्ष देखि तलब पाएका छैनन् ।

शिक्षक÷शिक्षिकाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई वर्षदेखि तलब नपाएको गुनासो गरेका हुन् । शिक्षिकाहरु गायत्री ठाकुर, काजल बिश्वकर्मा र बबली दासले दुई वर्ष देखि तलब नपाएको गुनासो गरेका हुन् ।

विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको हुनाले विराटनगर महानगरपालिकाको शिक्षा महाशाखालाई पटक पटक जानकारी गराउदा पनि महाशाखाले चासो नलिएको शिक्षिका गायत्री ठाकुरले बताइन् । तलब नपाएको कुरा प्रमुख जिल्ला अधिकारिलाई जानकारी गराएपछी अध्यक्ष मो. हेदरलाई पुस एक गते तलब दिन दिर्नेशन दिएको भएपनि अहिले सम्म आफुहरुले नपाएको शिक्षिकाहरुको गुनासो छ ।

तलबको बिषयमा जिल्ला प्रशासन कार्यालयमा पटकपटक बसेको बैठकमा पनि मो. जाबेद र हेदर अलि दोषी भएको पाइएपछि पुस १ सम्म शिक्षा निर्देशनालय तथा योजना कार्यक्रम शाखा धनकुटाबाट बिद्यालयको नाममा पठाएको ५ लाख अनुदान रकमबाट शिक्षक सम्स तबरेजको २ लाख ८ हजार, शिक्षिका गायत्री ठाकुरको १ लाख ८२ हजार र प्रोजेक्टर र ल्यापटपमा १ लाख १० हजार निकासी भएकोमा मो.जाबेद र हेदर अलिले हिनामिना गरेको बताइएको छ ।

सो रकम तिर्नु पर्ने निर्णय हुदा अटेर गरेकोले जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता पत्र दिदा उपस्थित नभएकोले हेदर अलि र मो. जाबेदलाई जिल्ला प्रशासन कार्यालय मोरङ्बाट हाजिर पुर्जी समेत जारी गरेको जनाइएको छ ।