नेपाल टेलिकमको लाखौंको सामान डकैती गर्ने चार जना पक्राउ

१२ माघ २०७७, सोमबार

नेपाल टेलिकमको बिटीएस साइट (टावर) बाट लाखौं रुपैयाँ बराबरको सामान डकैती गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै सो कार्यमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, सोही वडाका ३५ वर्षका पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाललाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गत पुस २३ गते विहान सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लुटेका थिए ।

अन्य तीन जना भने उनलाई ती सामानहरु निकाल्नेदेखि खरिद–बिक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले बताए ।

घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सिसीटिभी फुटेज, स्थानीयको बयान र टेलिकमको सहयोगमा गत मंगलबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाँका गर्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्बरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ भने अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।