प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

१२ माघ २०७७, सोमबार

काठमाडौं‌मा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि चार विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

मुलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो ।

पुलिसको जितमा अनिल साहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३  र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदिल अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए ।

पुलिसको जितसँगै लुम्बिनी र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।

सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपीएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो ।

एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

अन्तिम चारमा स्थान बनाएको एपीएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले बागमती प्रदेशसँग भिड्ने छ। बुधबार पहिलो सेमिफाइनल खेल एपीएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ