जाहेरी दिदा पनि इप्रका बेलबारीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता नगरेको पीडितको गुनासो

१२ माघ २०७७, सोमबार

विराटनगर, १२ माघ । सांघातिक आक्रमण गर्नेका विरुद्धमा प्रहरीमा जाहेरी दिदा पनि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता नगरेको पीडितले गुनासो गरेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारी मोरङले मुद्धा दर्ता नगराएको भन्दै पीडित मनोज अधिकारीले पत्रकार सम्मेृलन मार्फत गुनासो गरेका हुन् । अधिकारीले ज्यान मार्ने उद्योग मुद्दामा कारवाही गरी पाउँ भनी योगराज कार्की समेत ६ जना माथि दिएको निवेदन इलाका प्रहरी कार्यालय बेलबारी मोरङले दर्ता नगराएको बताएका हुन् ।

अधिकारीले मुद्दा दर्ता गराइ दिनु भन्दा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुखले उल्टै आफूलाई हप्काएको उनले गुनासो गरे । जग्गाको विषय लिएर छिमेकीसंग भएको विवादमा टाउँको र गर्दनमा लाठ्ठी, दाउराको चिरपट, हसिया, भाटा प्रहार गरेर आफूलाई घाइते बनाएको उनले बताए ।

पिडीत अधिकारीले न्यायका लागि जिल्ला सरकारी वकिलको कार्यालय मोरङ, मानव अधिकारवादी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख समेतलाई गुहार्न जाँदा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले उल्टै आफूलाई हकारेको बताए ।

इलाका प्रहरी कार्यालय बेलबारीमा गएको पुस १९ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउन निवेदन दिएपनि प्रहरीले दर्ता नगरेको अधिकारीले बताए । सो विषयमा प्रहरी निरिक्षक ढकालसँग बुझ्दा उनले मुद्धा दर्ता गराइ सकेको दावी गरे ।