शेखर कोइरालाले भने- सरकारले नागरिक समाजसँग क्षमा मागोस्

१३ माघ २०७७, मंगलवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिक समाजसँग क्षमा माग्न सरकारलाई आग्रह गरेका छन् ।

कोइरालाले प्रतिनिधिसभा विघटनको विरोधमा बालुवाटारमा नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेकाले क्षमा माग्नु पर्ने बताएका हुन् ।

मंगलबार ट्वीट गर्दै कोइरालाले देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरेपनि कम हुने बताएका छन् । कोइरालाले अपराधको दण्डबाट मुक्ति मन्दिरमा गरिने क्षमा पूजा र कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट सम्भव नहुने बताएका छन् ।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शन रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरेपनि पुग्दैन। त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै । सरकार,नागरिक समाजसँग क्षमा माग,’ कोइरालाले भनेका छन् ।