भारतमा गणतन्त्र दिवसकै दिन किसानको ट्याक्टर र्‍याली, ठाउँठाउँमा झडप

१३ माघ २०७७, मंगलवार

भारतका किसानले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्‍याली प्रदर्शन गरेका छन् । कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानले गणतन्त्र दिवसको दिन प्रतीकात्मक रूपमा विरोध जनाउँदै ट्याक्टर र्‍याली निकालेका हुन् ।

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानले ट्याक्टर र्‍याली निकालेपछि सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानको ट्याक्टर र्‍यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीले बताएका छन् । यसबाहेक हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानले निकालेको ट्याक्टर र्‍यालीमा पनि प्रहरीसँग झडपको स्थिति सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा किसानको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक पटक भएका छन् । तर वार्तामा सहमति नभएकाले आन्दोलन निरन्तर चलिरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ ।