११४ अंको वृद्धिपछि नेप्सेमा १७ अंकको करेक्सन

१३ माघ २०७७, मंगलवार

लगातार ४ दिनमा ११४ अंकले बढेको शेयर बजारमा पाँचौ दिन १७ अंकको करेक्सन देखिएको छ। मंगलबार बजारमा लगानीकर्ता प्रोफिट बुक गर्नेतर्फ लाग्दा बजारमा करेक्सन देखिएको हो। यस दिन नेप्से सूचक १७.७९ अंकले घटेर २४२३.०९ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ४.५८ अंकले घटेर ४४७.२४ विन्दुमा झरेको छ।

मंगलबार पनि कारोबार रकम भने ८ अर्ब रुपैयाँभन्दा माथि नै रहेको छ। यस दिन २०७ वटा कम्पनीको १ करोड ९४ लाख ४० हजार ८९५ कित्ता शेयर ८ अर्ब २० करोड १७ लाख ४३ हजार ६५६ रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन होटल र फाइनान्स बाहेकका १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा व्यापार उपसमूहको सूचक ३.१ प्रतिशतले घटेको छ।

मंगलबार गुँरास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने प्रभु लाइफ इन्स्योरेन्सको ९.९४ प्रतिशत, युनाइटेड फाइनान्सको ९.८८ प्रतिशत, पोखरा फाइनान्सको ८.३६ प्रतिशत र ओरियन्टल होटलको ७.०३ प्रतिशतले बढेको छ।

यता शिवश्री हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशतले घटेको छ भने प्रोग्रेशिभ फाइनान्सको ५.५७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ४.४७ प्रतिशत, साञ्जेन जलविद्युतको ४.३१ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ४.२८ प्रतिशतले घटेको छ। मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुधबारबाट बुकक्लोज गर्ने भएकोले मंगलबार उसको सबैभन्दा बढी कारोबार भएको हो।

त्यस्तै नेपाल बैंकको पनि ५२ करोड रुपयाँभन्दा धेरैको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको २३ करोड, पुनर्बीमा कम्पनीको २० करोड र नेपाल दुरसञ्चार कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।