केन्द्रीय समिति बैठकमा रामचन्द्रको प्रस्ताव- प्रदेशमा ओली समूहलाई समर्थन गर्न सकिन्न, संस्थागत निर्णय गरौँ

१३ माघ २०७७, मंगलवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश सरकार फेरबदल हुँदा नेकपाको केपी शर्मा ओली समूहलाई समर्थन नगर्न नहुने बताएका छन् ।

मंगलाबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पौडेलले कांग्रेस प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध आन्दोलनमा रहेकाले प्रदेश सरकार फेरबदल हुँदा ओली समूहलाई समर्थन गर्न नहुने बताएका हुन् । बैठकमा पौडेलले प्रदेशमा नेकपाको ओली समूहलाई समर्थन नगर्ने संस्थागत निर्णय गर्न प्रस्ताव गरेका थिए ।

तर, पौडेलको प्रस्तावप्रति सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया जनाएनन् ।  ‘केन्द्रमा प्रधानमन्त्री केपी ओलीको निर्णयको विपक्षमा कांग्रेस छ। त्यसैले प्रदेशमा ओली समूहलाई समर्थन गर्न वा मिलेर अघि बढ्न सकिँदैन । त्यसैले ओली समूहलाई समर्थन नगर्ने संस्थागत निर्णय तत्काल गराैं,’ पौडेलले बैठकमा भने ।

सभापति देउवा प्रदेश १ र बागमती प्रदेशमा ओली समूहसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा छन् । तर, प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित वरिष्ठ नेता पौैडेल, कृष्णप्रसाद सिटौला लगायत शीर्ष नेताहरू प्रचण्ड-नेपाल समूहसँग मिलेर अघि बढ्नु पर्नेमा जोड दिँदै आएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहले प्रदेश १ र बागमती प्रदेशमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रचण्ड-नेपाल र ओली समूहले कांग्रेसको साथ मागिरहेका छन् । तर, कांग्रेसभित्र कोसँग मिल्ने भन्ने विषयमा मतान्तर रहेकाले निर्णय गर्न सकिरहेको छैन ।

बैठकमा वरिष्ठ नेता पौडेलले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढेकाले संसद् पुनर्स्थापना भन्दा दोस्रो एजेण्डा कांग्रेसको हुन नहुने बताएको केन्द्रीय सदस्य गुरूराज घिमिरेले जानकारी दिए ।  ‘कांग्रेसका नेताहरु द्विविधामा बस्न जरुरी छैन । हामी संसद् पुनर्स्थापनाकै पक्षमा बोल्नुपर्छ र पार्टीको एकसुत्रीय अडान भनेको संसद पुनर्स्थापना नै हो, ’ उनले भने ।

संसद पुनर्स्थापनाको पक्षमा पार्टीले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउनुपर्ने पौडेलले बताएका थिए । संसद् पुनर्स्थापनाका लागि दबाब दिन सशक्त रूपमा आन्दोलनमा उत्रिनु पर्नेमा पौडेलले जोड दिइरहँदा मंगलबारको बैठक भने सभापति देउवाले कुनै प्रतिक्रिया जनाएनन् । पार्टीको महाधिवेशनका विषयमा कुरा उठाउँदा भने देउवाले बेला-बेलामा बीच-बीचमा प्रतिक्रिया जनाएका थिए ।