Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

ईश्वर पोखरेलले प्रचण्ड-माधवलाई भने : प्रधानमन्त्रीमाथिको आरोप फिर्ता लिनुहोस्, मिलेर निर्वाचनमा जाऊ

2021-01-26 09-01 | Hamro Biratnagar                  

A+ A A-

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोप निराधार रहेकोले ती आरोप फिर्ता लिएर मिलेर निर्वाचनमा जान प्रचण्ड-माधव समूहलाई आग्रह गरेका छन् । सप्तरीको राजविराजस्थित रङ्गशालामा मङ्गलबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीकै कुर्सीका लागि पार्टीलाई तहसनहस बनाउने खेलमा लागेको बताउँदै उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएका आरोप निराधार रहेकोले ती आरोप फिर्ता लिएर मिलेर निर्वाचनमा जान आग्रह छ, यसैमा सबैको हित हुन्छ ।’

निर्वाचन आयोगको निर्णयबाट पनि प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेकोले पार्टी नै आधिकारीक हुने उनले दाबी गरे । चुनाव चिन्ह सूर्य छापसमेत पाउने दाबी गर्दै उनले भने ‘उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारिक हुनेछ, यसैलाई सबै नेताले मानेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओली जनताको पक्षमा विकास र समृद्धिका लागि काम गर्दै आए पनि प्रचण्ड र माधवले कामै गर्न नदिएको र सहयोग गर्नुको साटो प्रतिपक्षको जस्तै भूमिकामा प्रस्तुत भएको उपप्रधानमन्त्री पोखरेलले दाबी गरे । वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाँडै हुनेसमेत उनले बताए ।

सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले पदकै लागि पार्टी फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाए । बृहत भेलालाई कानुनमन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिकामन्त्री जुली महतो, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुवीर महासेठ, केन्द्रीय सदस्य सुखराम यादव, रञ्जु ठाकुर, ज्वाला साहसहितका वक्ताले सम्बोधन गरेका थिए ।

नेकपा ओली पक्षका सप्तरी संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् । यसअघि कार्यकर्ताले राजविराजमा ओलीको पक्षमा नाराबाजीसमेत गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय