Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

ओली र प्रचण्डको तस्वीर राखेर सूर्य थापाले फेसबुकमा लेखे, ‘प्रचण्डले भैंसीको पूजा गर्नुभएकाे थियाे’

2021-01-28 11-01 | Hamro Biratnagar                  


A+ A A-

प्रधानमन्त्री केपी ओलीले १२ माघ बिहान पशुपतिनाथमा पूजा गरेकाेप्रति 'सर्वत्र प्रशंसा भएकाे' उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुनसरीमा भैंसीकाे पूजा गरेकाे भन्दै कटाक्षसमेत गरेका छन् । 'भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिँदैन', पशुपतिमा खिचिएकाे ओलीको तस्वीर र सुनसरीमा प्रचण्डले भैंसीको पूजा गर्दै गरेको तस्वीर राखेर फेसबुकमा उनले लेखेका छन् ।

पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माण कार्यकाे  निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गरेका प्रधानमन्त्री ओलीले सुनकाे जलारी निर्माणका लागि  ३० कराेड रुपैयाँ सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएकाे थापाकाे भनाइ छ । 'मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट  ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे', उनले उल्लेख गरेका छन् ।

उनका अनुसार अहिलेसम्म पित्तल र तामाकाे जलारी थियाे भने अब १ सय ४१ किलाे सुनकाे जलारी बन्ने पक्का भएकाे छ । 'दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ', थापाले लेखेका छन् ।

दाेस्राे तस्वीर भनेर उनले प्रचण्डले भैंसीकाे पूजा गर्दै गरेकाे तस्वीर पनि राखेका छन्, साेही तस्वीरलाई संकेत गर्दै उनले लेखेका छन्, 'पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे ! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिँदैन ।'


सम्बन्धित खबर