ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

१५ माघ २०७७, बिहीबार

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले उक्त १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुग्ने भएको छ । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत शेयरधनीहरूलाई साधराणसभामा सहभागी गराएको थियो ।

सभाले बैंकको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिकाे वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गरेको छ । साथै, बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले ज्योति विकास बैंक संस्थापक शेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी चार वर्षका लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।