विप्लव समूहका नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

१५ माघ २०७७, बिहीबार

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव' समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत २९ पुसमा बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको छ ।