विराटनगरको विरोधसभामा झलनाथ खनालले भने ‘ओली १ नम्बरका ठग हुन्’

१६ माघ २०७७, शुक्रबार

विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू नै आधिकारिक नेकपा भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै खनालले पद र सत्ताका लोभीहरू मात्रै बाहिरिएकाले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् ।

नेकपा विभाजन नभएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले एमाले ब्यूँत्याउन खोजेको बताए । 'एमाले र माओवादीबीच हामीले एकता गराएका हौं,' उनले भने, 'नेकपालाई घर-घरमा पुर्‍याउनुस् । केपी ओली एक नम्बरका ठग हुन् र उनले एमाले ब्यूँत्याउन खोजिरहेका छन् । '

उनले आफूहरु सडकमा रहरले नभएर बाध्यताले आएको पनि बताए । खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टीमा प्रतिगामी भएर जन्मिएको बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको आशा र भरोसामाथि ठूलो घात गरेको बताए ।

खनालले प्रधानमन्त्री ओलीले जेलमा बस्दा मार्क्सवाद नभएर रामायण र महाभारत पढेर बसेको पनि आरोप लगाए । उनले आफूहरुको एकमात्र उद्देश्य संसद पुनर्स्थापना नै भएको बताए । 'संसद् पुनर्स्थापनाको विकल्प छैन,' उनले भने, 'जनताको आवाज सर्वोच्च अदालत र निर्वाचन आयोगले सुन्नुपर्छ । '

https://youtu.be/_8MVe3crx2I