ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

१६ माघ २०७७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए । उनले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडि बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफूहरूको सहयोग र समर्थन रहने पनि बताए ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता नेम्वाङ र मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका थिए ।

आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिए । आयोगले निर्वाचनसम्बन्धी तयारी गर्न ढिला गर्नु नहुने उनको भनाइ छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताए ।

नेकपा 'प्रचण्ड'–माधव नेपाल समूहले भने छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल उपस्थित हुन चाहे पनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले १८ माघपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता राजेन्द्र पाण्डेले अध्यक्षद्वयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताए । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरूपण नगरी दल दर्ताको सूचना निकाल्नु नहुने उनको भनाइ छ । आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उनको भनाइ छ । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उनले टिप्पणी गरे ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेस नगरेको बताए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ । निर्वाचन आयुक्त पौड्यालले नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि बताए ।

https://youtu.be/_8MVe3crx2I