विराटनगरको विरोसभामा प्रचण्ड–नेपाल समुहले ओलीलाई गाली गर्नमै समय खर्चियो (फोटो फिचरसहित)

१६ माघ २०७७, शुक्रबार

विराटनगर, १६ माघ । प्रधानमन्त्री केपी कर्मा ओलीको सिफासिमा राष्ट्रपति विद्यादेवी भण्डारीले ससद विघटन गरेपछि नेकपा दुई समुहमा विभाजित छ । नेकपाको एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समुहको नेतृत्व प्रचण्ड–माधवकुमार नेपालले गरेका छन् ।

प्रचण्ड–नेपाल समुहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन, सभा सम्मेलन जारी राखेको छ भने ओली समुहले पनि आफ्नो समर्थन जुटाउन देशव्यापी शक्ति सहितको प्रदर्शन गरिरहेको छ । आफ्नो समुहले आयोजना गरेका कार्यक्रममा ओलीले सम्बोधन गर्दा अधिकांश समय प्रचण्ड–नेपाल समुहलाई लागि गर्नमै समय खर्चने गरेका छन । त्यस्तै प्रचण्ड–नेपाल पक्षले पनि ओलिविरुद्ध खनिँदै आएका छन् ।

कानुनी रुपमा नेकपा विभाजन नभएपनि नेताहरु एक अर्काबिच आरोप प्रत्यारोपमा उत्रिँदै आएका छन् । शुक्रबार विराटनगरमा पनि यस्तै दृष्य देखियो । नेकपा प्रचण्ड–नेपाल समुहको १ नं. प्रदेश कमिटीले प्रदेश राजधानी विराटनगरमा शक्ति प्रदर्शन सहितको विरोधसभा आयोजना गर्यो । ६० हजार कार्यकर्ता उतार्ने भनिएको विरोधसभामा सम्बोधन गर्ने सवै नेताहरुले अधिकांश समय ओलीलाई आरोप लगाउनमै खर्चिए । उनीहरुले शिर्षस्थ नेताहरु मध्ये सवै भन्दा पहिले बोलेका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई गणतन्त्र विरोधि भएको आरोप लगाए ।

उनले ओलीलाई लोकतन्त्र र गणतन्त्रसँग एलर्जी भएको र ओली समूहले तमासा मात्र गरिरहेको आरोप लगाए । ओलीले विकास होइन बिगार्ने मात्र काम गरेको उनको दावी थियो । अध्यक्ष नेपालले अहिलेको लडाइँ कुर्चीको नभइ विचारको लडाइँ भएको बताए ।

उनले पछिल्लो समय निर्वाचन आयोगको पछिल्लो निर्णयले ओलीको सिङ–जुरो भाँचिदिएको बताए । नेता नेपालले पूर्व एमालेका शिर्षस्थ नेताहरु आफ्नै समुहमा रहेकाले पनि आधिकारीक नेकपा पनि आफुहरुनै रहेको ठोकुवा गरे ।
’एमालेको पहिल्यै शिर्ष नेता भइसक्नु भएका नेता झलनाथ र म यतै छौँ, त्यसैले एमाले पनि हामीनै हौँ । ३ सय केन्द्रीय सदस्य भएको पार्टी नै मूल पार्टी हो ।’ उनले भने,‘पार्टी ओलीको पेवा होइन, देशभरी भएको प्रदर्शनले पनि जनमत हाम्रो पक्षमा छ भन्ने स्पष्ट हुन्छ ।’

माधव नेपालपछि बोल्ने पालो आएपछि स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ओली प्रति लक्षित गर्दै केही मानिसहरुको सन्की पनमा संविधान माथि हस्तक्षेप भएको र त्यो संविधान नटिक्ने भएकाले प्रतिगमना विरुद्धमा एकजुट हुनुपर्ने बताए । ‘हिँजो राजा ज्ञानेन्द्रको प्रतिगमन टिकेन, महेन्द्रको तानाशाही टिकेन, पञ्चायती व्यवस्था टिकेन र भर्खरै अमेरिका जस्तो समृद्ध मुलुकमा ट्रम्प जस्तो सन्काह शसकको सासन पनि टिकेृन भने केही मानिहरुको उत्तेजनामा, सन्की पनमा जसरी प्रजातन्त्र, लोकतन्त्र र संविधान माथि हस्तक्षेप भएको छ यो कदम पनि टिक्दैन ।’ उनले भने,‘नेपाली जनताले अरिंगाल खाए बच्छीउ खाए यो मुला तिते बारुला केही पनि छैन ।’

उनले अहिले संविधान मान्ने र नमान्नेबीच र लोकतान्त्रिक र तानाशाहीबीच लडाइँ भइरहेको बताए । ’यो लडाइँ संविधान मान्ने र नमान्ने बीचको लडाइँ हो, हाम्रो लडाइँ लोकतान्त्रिक र तानाशाहीबीचको लडाइँ हो’ उनले भने । भट्टराई पछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली एक नम्बरको ठग भएको आरोप लगाए । खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टीमा प्रतिगामी भएर जन्मिएको बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको आशा र भरोसामाथि ठूलो कुठाराघात घात गरेको बताए ।

खनालले प्रधानमन्त्री ओलीले जेलमा बस्दा मार्क्सवाद नभएर रामायण र महाभारत पढेर बसेको ब्यंग्य गरे । ‘ओली जेलमा बस्दा रामायण र महाभारत पढेर बसे । त्यहाँ उनले सकुनीजस्तो व्यवहार सिके । सकुनी अहिले कथामा सीमीत छ ओली पनि कथा बन्नेछन ।’ उनले भने । उनले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाए । ‘यो सार्वभौम नेपाललाई विघटन गर्ने षड्यन्त्र हो,’ अध्यक्ष प्रचण्डले भने ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता जागेपछि उनी चुट्कीका भरमा ढल्नेछन् ।’

जनताका प्रतिनिधिले इतिहासमा पहिलो पटक बनाएको संविधान विघटन गर्ने उद्देश्यबाट प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताले प्रधानमन्त्री उक्त प्रयत्न असफल बनाउने चेतावनी दिए ।

प्रधानमन्त्री ओली नेपाली कम्युनिष्ट आन्दोलनका बेइमान, ठग र धुर्त पात्र भएको भन्दै अध्यक्ष प्रचण्डले केपी ओलीले प्रतिनिधि सभा विघटन नहुने जिकिर पनि गरे । उनले प्रतिनिधि सभा जिवितै रहेको दोहो¥याउँदै आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बसेर ओलीलाई कारवाही गर्ने चेतावनी पनि दिए ।

‘आवश्यक पर्यो भने सभामुखले प्रतिनिधि सभाको बैठक आव्हान गर्नुहुनेछ र हामी सबै बैठकमा सहभागी हुनेछौं,’ उनले भने ‘त्यो बैठकले प्रधानमन्त्रीलाई कारवाही गर्ने र प्रधानमन्त्रीबाट हटाउने छ । म यो उद्घोष गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्डमा परिवारवाद हावी भएको र छोरीज्वाईलाई मात्र हेर्ने गरेको आरोप लगाउने गरेको भन्दै उनले छोराछोरी हुनु आफ्नो दोष नभएको बताए । ‘म मा नपुंशकता भएन, छोराछोरी भए त मेरो के दोष भयो ?’ प्रचण्डले प्रश्न गर्दै भने ‘मैले छोराछोरीलाई अमेरिका पढ्न पठाइन रोल्पामा लड्न पठाएँ के त्यो मेरो दोष हो ?’ उनले आफुले छोराछोरीका लागि केही गरेको भन्दै आलोचना गर्नेले धर्म छोराछोरीको नाममा कोच्याउने कामलाई जनताले हेरिरहेको टिप्पणी पनि गरे ।

नेकपालाई एकजुट बनाएर देशका सर्वहारा मजदुर किसानका लागि काम गर्ने तयारी गर्दागर्दै छोरी र छोराको मृत्यु भएको तरपनि अभियान नरोकेको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले अब आफ्नो लागि देशका सबै युवाहरु आफ्ना भएको भन्दै देशका लागि केही गरेर मर्ने चाहना राखेको र व्यक्तिगत लाभका लागि केही गर्न जरुरी नभएको भन्दै प्रतिगमनका विरुद्धमा सशक्त भएर उभिन आग्रह गरे । विरोधसमा ६० हजार कार्यकर्ता उतार्ने दावी गरेपनि अपेक्षा अनुसार भने कार्यकताको सहभागिता हुन सकेन । विरोधसभामा मोरङ, झापा, सनसरीलगायत प्रदेशका विभिन्न जिल्लाहरुबाट कार्यकर्ताको सहभागिता रहेको थियो ।