माघको कठ्यांग्रीदो जाडोमा रंगेलीमा धान रोपाईँ

१७ माघ २०७७, शनिबार

रबिन्द्र बराल/रंगेली १७ माघ । के पत्याउनु हुन्छ माघ महिना को जाडो मौसम र चिसो समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनि चोक, ननकार टोल र सुनवर्षी–५ स्थित झुंगीटोलमा माघ महिनामा समेत घान रोपाई हुने गरेको छ ।

सो क्षेत्रमा रहेको ३० औँ बिधा खेतमा अहिले अतिबिपन्न परिवार महिला हरु आफ्नो घर खर्च जोह गर्नका लागि माघ को कठ्यांग्रीदो जाडोलाई समेत वेवास्ता गरेर उनीहरु धान रोपाईँमा ब्यस्त छन् । सो क्षेत्रमा यतिबेला महिला मजदुरहरु एका बिहानै देखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोप्दै गरेको देखिन्छ ।

महिलाहरुले एक बिघा खेत रोप्त १० हजार रुपैयाँमा खेत ठेक्का लिने गरेका छन । अतिविपन्न परिवारका महिला सदस्यहरु को सहयोगमा उनीहरुले धान रोप्ने गरेका छन । उनिहरुले एक बिघा घान रोपन्न ५ देखि ७ जनालाई हप्ता दिनसम्म लाग्ने गरेको बताए । त्यसरी खेतमा धान रोप्दा एक जना बराबर दैनिकी ३ सय रुपैयाँ भागमा पर्ने मानौ मुखिया ले बताइन । ‘६ जनाको ठुलो परिवार छ । काम गरेन भने दुई छाक टार्न हामीलाई समस्या छ ।’ उनले भनिन्,‘यसरी जनमजदुरी गरेरनै बालबच्चाको पालनपोषण र घर खर्च चलिरहेको छ ।’

त्यसैगरी स्थानीय सुमित्रा ऋषिदेवले पनि चार परिवारलाई दैनिकी ज्यालादारी गरेर परिवारको जिविकोपार्जन भइरहेको बताइन् । ‘श्रीमान ४ बर्ष देखि रोगी भएर डेढ लाख रुपैयाँ खर्च गरेर समेत बचाउन सकिएन । अहिले समेत श्रीमानको उपचारमा लागेको दवाईको ऋण तिर्न सकेको छैन । साहु प्रत्येक दिन बाँकी रहेको ३० हजार रुपैयाँ लिन घर आउँछन् ।’ उनले भनिन्,‘गरिब मान्छे । पैसा नतिरे प्रहरी लगाएर थुन्ने धम्की दिन्छन् । घर खर्च चलाउनु कि ऋिण तिर्नु एकदमै समस्या छ । त्यसैले अलिकति भएपनि कमाई हुन्छ भनेर धान रोप्न आएकी हुँ ।’

उनले अहिले यस्तो माघको जाडोमा आफ्नो परिवारको गुजाराका लागि आफुले बिहानैदेखि बेलुकीसम्म गरेर ३ सय रुपैयाँ मात्रै कमाउने गरेको र सबै कुरा किनेर परिवारलाई पाल्नुपर्ने बाध्यताका कारण पतिको उपचारमा लागेको रकम तिर्न नसकिने उनले बताईन् ।

माटोका कारण अन्य बालि नहुने भएकाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अन्य समयमा खेत बाँझै छाडने गरेको स्थानीय कृषकहरुले बताएका छन् । अहिले उक्त खेतमा कृषकले घुटराज धान रोपी रहेका छन् ।

माघमा रोपेको धान जेठ महिना मा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको स्थानीय कृषकहरु बताउँछन् । अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्न समस्या भएको कृषकहरुको गुनासो छ ।