प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : आफ्नै निर्वाचन क्षेत्रको अयोध्यापुरी नै रामको जन्मभूमि हो भन्न किन सक्नुहुन्न ?

१७ माघ २०७७, शनिबार

चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई कडा प्रश्न गर्नुभएको छ । चितवनमा आज आयोजित जनसभामा संबोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर राम जन्मभूमिबारे केही नबोलेको बताउनु भयो ।

‘चितवनको यसै निर्वाचन क्षेत्रबाट जितेको सांसद रामको जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न । कस्को डरले बोल्न सक्नुभएको छैन । किन राम जन्मभूमि अयोध्यापुरी नै हो भन्न सक्नुहुन्न ? कस्को भक्तिका लागि हो ?,’ प्रचण्डप्रति कडा प्रहार गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले प्रचण्डले राष्ट्रियताको सवालमा आफूलाई मयुर भन्ने गरे पनि त्यो संभव नभएको बताउनु भयो । ‘मयुरको प्वाख लगाउँदैमा अर्काे चरो मयुर हुँदैन, त्यो चरो त्यही रहन्छ । राम जन्मभूमिबारे किन बोल्न सक्नुहुन्न ? कस्का डरले बोल्नुहुन्न ? थाह भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्न्ुभयो ।

उहाँले प्रचण्डले केही नगर्न चाहे पनि चितवनमा बिकाशको लहर आफूले ल्याउने र पूर्ववत घोषणा गरिएका सवै काम गर्ने प्रतिवद्धता जनाउनु भयो । ‘उहाँ (प्रचण्ड) हरु आत्तिनु होला, बर्बराउनु होला, बिकाश हुनेभयो भनेर, उहाँहरु आत्तिएपनि हुन्छ, अव नारायणीमा तटबन्ध हुन्छ, बनाएर छाडिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले मतपत्र च्यातेर मेयर हुनुभएकी प्रचण्डपुत्री रेनु दाहाललाई पनि कडा प्रहार गर्नुभयो ।