‘प्रचण्ड पक्षीय कार्यकर्ताको रवैया थाहा भयो, अनि ओली नेतृत्वको नेकपामै फर्किएँ’

१८ माघ २०७७, आईतवार

काठमाडौं, माघ १८ । तत्कालीन एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटा शुक्रबार साँझसम्म विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा रहनु भएको थियो । उहाँ शनिबार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सफल पार्न सक्रिय हुनुभएको थियो तर, शनिबार बिहान उहाँ प्रचण्ड–माधव समूहको कार्यक्रममा जानु भएन । त्यहि समयमा उहाँ केपी ओली पक्षको सम्पर्क मञ्चको कार्यक्रममा सहभागी हुनुभयो । ओली पक्षले उहालाई स्वागत गर्यो ।

कार्यक्रममा उहाले भन्नुभयो ‘नबुझ्दासम्म प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गल्ती गरेजस्तो लागेको थियो । जब माओवादीका प्रचण्ड पक्षीय कार्यकर्ताको रवैया थाहा भयो, तब ओली कसरी बाँध्य हुनुभएको रहेछ भन्ने बुझें, र यता आएँ ।’ माओवादीका नेताको नियतै ठीक नभएको उहाँको बुझाइ छ । पूर्वएमालेका कार्यकर्तामाथि रजाइँ गर्नकै लागि प्रचण्डले पार्टी फुटाएको टिप्पणी गर्दै उहाँले भन्नुभयो – कोही कोही साथीले अझै बुझ्नु भएको छैन, पूर्वमाओवादीको नियत बुझेपछि धेरै साथीहरु यतै आउनुहुन्छ ।

सापकोटा मात्रै होइनन्, एमाले–माओवादी एकतापछि बनेको सम्पर्क मञ्चका संयोजक राजन आचार्य पनि शनिबार ओली पक्षमा खुल्नुभयो । त्यस्तै प्रचण्ड–माधव पक्षमा कट्टर कार्यकर्ता भनेर चिनिएका विनोद खनाल पनि सापकोट र आचार्यसँगै ओली पक्षमा आउनु भएको छ ।

आचार्यले भन्नुभयो – नबुझ्दासम्म केही साथीहरु प्रचण्ड–माधवतिर लाग्लान्, बुझेपछि संस्थापनातिरै फर्कन्छन् । सिन्धुपाल्चोकमा पूर्वमाओवादीले पूर्वएमालेमाथि शासन गर्ने जस्तो नीति बनाएको रहेछ, बुझेपछि त्यहाँ बस्नै सकिएन । सम्पर्क मञ्चका नेता कार्यकर्ता मात्रै होइनन्, नेकपा सिन्धुपाल्चोकमा अधिकांश कार्यकता क्रमशः ओली पक्षमा खुल्न थालेका छन् । सुरुमा माधव–प्रचण्ड पक्षको कार्यक्रममा सहभागी भएकाहरु पछिल्लो समय ओली पक्षीय कार्यक्रमहरुमा देखिन थालेका छन् ।

जिल्लाका नेताहरु प्रचण्ड–माधव पक्षमा धरै भए पनि कार्यकर्ता पंक्ति भने ओली पक्षमा बढी देखिएका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ प्रचण्ड–माधव पक्षमा छन् । तामाङ सुरुमा ओली पक्षमै भए पनि जिल्लाका नेताको दबाब थेग्न नसकेको भन्दै प्रचण्ड–माधव पक्षमा लाग्नु भएको थियो । नेकपाले जितेका तीन प्रदेशसभा सदस्यमध्ये अरुण र युवराज दुलाल प्रचण्ड–माधव पक्षमा छन् भने सरेश नेपाल ओली पक्षमा हुनुहुन्छ ।