प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने, अविश्वास प्रस्ताव अघि बढ्ने सम्भावना

१८ माघ २०७७, आईतवार

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट सुरु भएको थियो । तर, त्यसदिन नेकपाको विवादका कारण तीन मिनेट बैठक बसेर सकिएको थियो । र, अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । अविश्वासको प्रस्ताव संसदमा छलफलमा लैजाने विषयमा भने सहमति जुटेको छैन । यहीबीचमा मुख्यमन्त्री राईको विवाह भएकाले पनि बैठक लामो समय स्थगित भएको हो ।