भारतले नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

१९ माघ २०७७, सोमबार

भारतले सन् २०२१/०२२ मा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सोमबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपाललाई ९ अर्ब ९२ करोड भारू (नेपाली रुपैयाँ : १५ अर्ब ८७ करोड) साे आर्थिक वर्षका लागि अनुदान उपलब्ध गराउने उल्लेख छ ।

भारतले अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदान १३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष नेपालका लागि ८ अर्ब १० कराेड भारू विनियोजन गरेको थियो । चालू वर्षका लागि भारतले सार्क राष्ट्रमा दिने अनुदान बढाएसँगै नेपाललाई दिने अनुदानमा पनि १३ प्रतिशतले गरेको छ ।

भारतबाट सार्क राष्ट्रमध्ये भुटानले सबैभन्दा बढी अनुदान पाउने भएको छ । भुटानलाई भारतले ३० अर्ब ४ करोड भारू अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

त्यस्तै, अफगानिस्तानले ३ अर्ब ५० करोड, बंगलादेशले २ अर्ब, श्रीलंकाले २ अर्ब, माल्दिभ्सले २ अर्ब ५० करोड र म्यान्मारले ४ अर्ब रुपैयाँ भारू अनुदान पाउने उल्लेख छ । सोमबार सार्वजनिक गरिएको बजेट अप्रिल महिनादेखि कार्यान्वयनमा आउने बताइएकाे छ ।