नेवि संघले विराटनगरमा मसाल जुलुश निकाल्यो

२० माघ २०७७, मंगलवार

विराटनगर, २० माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाई कमिटीले प्रतिनिधिसभा विघटनकाविरुद्धमा विराटनगरमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा भएको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो ।

महेन्द्र मोरङ क्याम्पस गेटबाट सोमबार बेलुका निकालेको मसाल जुलुस रोडषेश चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका महेन्द्र मोरङ इकाई सभापति जसवन्त पौडेलले प्रधानमन्त्री ओलिले चालेको असंवैधानिक कदमका विरुद्ध देशभरका विद्यार्थी एकजुट हुनुपर्ने बताए ।

उनले पाँच वर्षका लागि जनताले नेकपालाई सरकार चलाउने जिम्मा दिएको बताउँदै आन्तरिक विवाद देखाएर तीन वर्षमै संविधानमा व्यवस्था नै नभए पनि संसद विघटन गरेर देशलाई दलदलमा फसाएको आरोप लगाए ।

मसाल जुलुसमा नेविसंघ महेन्द्र मोरङ इकाई कमिटी सभापति जसवन्त पौडेल , अन्य नेविसंघका नेताहरु आयुस अधिकारी र संरक्षण देवकोटा लगायतको उपस्थिति रहेको थियो ।