अफगान राजधानी काबुलमा श्रृंखलाबद्ध बम हमला

२० माघ २०७७, मंगलवार

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो ।

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिए । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए । तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए ।

हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरू नियमित झैँ हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरू अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहरनजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकु मारिएका छन् ।

प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिए  । उनले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताए । उक्त घटानामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन् ।