अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

२१ माघ २०७७, बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । अख्तियारका नवनियुक्त प्रमुख आयुक्तमा प्रेमबहादुर राईले बुधबार  पदभार ग्रहण गरेलगत्तै आयुक्त जोशीले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका जोशी अख्तियारबाट बुधबार नै बिदा भएका छन् । तर, उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् । ‘आयुक्तबाट राजीनामा दिएर म अख्तियारबाट बिदा भइसकेको छु,’ उनले भने ।

 अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अनिवार्य अवकाश पाएपछि जोशीले अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका थिए ।जोशीको कार्यकाल चैत मसान्तबाट सकिँदै थियो ।

यसअघि अख्तियारका नवनियुक्त राईसहित आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवालले टंगालस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दा उनको स्वागतमा आयुक्त, सावित्रा गुरुङ उपस्थित भएपनि जोशी भने सहभागी थिएनन् ।