अवहेलनासम्बन्धी मुद्दामा प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

२१ माघ २०७७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजालसले कारण देखाउ आदेश दिएको हो । प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंगलबार बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको थियो ।

अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतमाथि टिप्पणी गरेका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’