Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रचण्ड-माधव समूहले पूर्वलडाकुलाई प्रदेश विशेष कमिटीमा जिम्मेवारी दिने

2021-02-03 05-02 | Hamro Biratnagar                  

A+ A A-

नेकपा प्रचण्ड-माधव नेपाल समूहले बर्हिगमित तथा पूर्वजनमुक्ति सेनालाई पार्टीमा विशेष जिम्मेवारी दिने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वकमाण्डरहरू जनार्दन शर्मा, वर्षमान पुन, चक्रपाणि खनाललगायतका नेताहरूले यसमा छलफल गरिसकेका छन् । र, त्यो छलफल अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भएको छ । पार्टीको शीर्ष तहमा भएको छलफलअनुसार पूर्वलडाकुका लागि पार्टीमा विशेष कमिटी नै बन्नेछ । त्यस्तो विशेष कमिटीको हैसियत भने प्रदेशस्तरीय हुनेछ ।

खासगरी पछिल्ला दिनमा पूर्वलडाकुहरू प्रचण्डसँगको रिसले केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्न छलफलमा थिए । पूर्वमाओवादी रामबहादुर थापा बादलमार्फत ठूलो संख्या ओली नेतृत्वको नेकपामा जोडिन पुगेपछि प्रचण्ड दबाबमा परेका थिए ।

बर्हिगमित लडाकुहरूको ठूलो संख्या अहिले पनि प्रचण्डसँग असन्तुष्ट छ । पश्चिम नेपालका केही जिल्लामा गतिलै पकड भएका पूर्वलडाकु नै ओली समूहमा जोडिने खतरा देखिएपछि प्रचण्डसहितका नेताहरूले विशेष जिम्मेवारी दिने प्रयास गरेका हुन् ।

प्रचण्डनिकट एक नेताका अनुसार पूर्वलडाकुका नेताहरूसँग विशेष जिम्मेवारीको विषयमा छलफल भइसकेको छ । विगतका कमजोरी स्वीकार गरेर नै प्रचण्डले विशेष भूमिका खोजी गरेको लडाकुहरूसँग भनिसकेका छन् ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको भेलामा पनि प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकाशमा परेका पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताए  ।

साथै भेलालाई सम्बोधनका क्रममा पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय  गरेको तर तल्लो तहसम्म उचित जिम्मेवारी पाए/नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै प्रचण्डले आत्मालोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले भ्रममा नपर्न आग्रह समेत गरेका थिए । केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलनले जित्ने र त्यसपछि जनमुक्ति सेनाको आवश्यकता पूरा गर्ने भन्दै उनले विचलित नहुन पनि भनेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय