हडताल गरे कारबाही गर्ने गृहको चेतावनी (विज्ञप्तीसहित)

२१ माघ २०७७, बुधबार

काठमाडौं, २१ माघ । गृह मन्त्रालयले नेकपाको प्रचण्ड–माधव समूहले बुधबार निकालेको जुलुस र बिहीबारका लागि आह्वान गरेको आमहडतालप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गृहले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत अवाञ्छित क्रियाकला नगर्न आग्रह गरेको छ ।

नेकपामा देखिएको विवादबीच संवैधानिक निकायहरूमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहडताल आह्वान गरेको छ । आमहडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा लेखिएको छ, 'शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।'

मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाउने उल्लेख गर्दै यातायात व्यवसायीलगायत सबैलाई पेसा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।