बागमती प्रदेशसभा बैठक स्थगित, बालुवाटार र शितल निवासकाे दबाबमा सभामुख लाचार भए : अष्टलक्ष्मी शाक्य

५ फाल्गुन २०७७, बुधबार

आज बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

बैठक स्थगित भएपछि सभामुख सानुकुमार श्रेष्ठको मोबाइल स्विच अफ भएको छ । बैठक स्थगित भएको विरोधमा प्रचण्ड–माधव समूहले विरोधपत्र बुझाउने तयारी गरिरहेको छ । प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बालुवाटार र शितल निवासको दबाबमा सभामुख लाचार भएर बैठक स्थगित गरेको बताइन् ।