प्रदेश १ मा ‘हर्न निषेध’ अभियान सुरु

१० फाल्गुन २०७७, सोमबार

विराटनगर, १० फागुन । प्रदेश १ मा हर्न निषेध अभियान सुरू गरिएको छ । प्रदेश १ मा आज देखि हर्न निषेधित अभियान सुरू गरिएको हो । आज विहान १० बजे विराटनगरको विभिन्न स्थानमा ट्राफिक प्रहरीहरूले हर्न निषेधित क्षेत्रका विषयमा सवारी चालकहरूलाई सचेत गराएका थिए ।

जथाभावि हर्न बजाउने र प्रेसर हर्न बजाउने कार्यलाई निरुत्साहित गरी ध्वनी प्रदुषण कम गर्ने उद्देश्यले हर्न निषेधित अभियान सुरू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसैवीच नेमुवा ट्राफिक प्रहरीले विराटनगर प्रवेशद्वार ढाटमा हर्न निषेधित अभियानबारे सवारी चालकहरूलाई सचेत गराएको छ ।

नेमुवा ट्राफिक पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक तुलामणी आचार्यले दुई वर्ष पहिले देखि नै अभियान थालिएको बताए । तर, अभियान प्रभावकारी नभइरहेको अवस्थामा पुनः अभियानलाई निरन्तरता दिइ प्रभावकारी बनाउने प्रयास थालिएको उनले जानकारी दिए ।

अभियानका क्रममा पहिलो दिन सचेत गराइएको छ । सचेत गराउँदा पनि नमानेको अवस्थामा चालकहरूलाई कार्वाही गरिने आचार्यले बताए । उनले प्रदेशभर एकैपटक अभियान थालिएको र अनावश्यक हर्न बजाउने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने स्पष्ट पारे ।