विराटनगरमा पाँच वर्षअघि उपभोग मिति सकिएकाे दाल धमाधम बेच्दै व्यापारी

१३ फाल्गुन २०७७, बिहीबार

विराटनगर, १३ फागुन । पाँच वर्षअघि उपभोग्य मिति सकिएकाे रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य मिति गुज्रिएकाे दाल १५ केजी तौल भएको दुई हजार सात सय बोरा बरामद भएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा  थाहा भएकाे कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उक्त दाल भारतबाट आयात गरिएको हाे । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशंकामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल (स्टिकर) राखेर दाल बजारमा पठाउँदै आएका थिए ।