मोरङको दक्षिणी क्षेत्रका कृषक धान रोपाईँमा व्यस्त

१३ फाल्गुन २०७७, बिहीबार

विराटनगर, १३ फागुन । मोरङको दक्षिणी क्षेत्रका किसान यतिखेर हिउँदे धान रोपाइँमा ब्यस्त छन् । वर्षभरिमा तीन बाली भित्र्याउने उनीहरु माघ पहिलो सातादेखि नै हिउँदे धानबाली लगाउन ब्यस्त भएका हुन् । मोरङको दक्षिणी क्षेत्रमा अवस्थित रंगेली नगरपालिका र धनपालथान गाउँपालिकाका किसानलाई यतिखेर धान रोपाइँ गर्न भ्याइनभ्याई छ ।

माघको पहिलो साता नै हिउँदे धान रोपाइँ गरिसक्नुपर्ने भए पनि उनीहरु फागुनको पहिलो सातामात्र रोपाइँ गरिरहेका छन् । यसपटक माघ महिनाभरि अत्यधिक चिसो बढेका कारण जनमजदुर नपाएकाले उनीहरुले समयमा हिउँदे धान रोपाइँ गर्न सकेनन । निरन्तर हिउँदे धान रोपाई गर्दै आएपनि उक्त क्षेत्रमा सिंचाईको पर्याप्त सुबिधा नभएका कारण आफुहरुले बोरिंगबाट सिंचाई गरि धानबाली लगाउने गरेको धनपालथान गाउँपालिका–५का किसानहरुले बताएका छन् ।

अहिले रोपाइँ गर्दै गरिएका धान यसक्षेत्रका किसानले जेठ अन्तिम सातासम्म काटिसक्छन र त्यसपछि बर्षे धान लगाउने तयारीमा जुट्छन् । यतिखेर किसानले बजरंगी सहित स्थानिय भाषामा गरमा भनिने धान रोपाई गरिरहेका छन । बर्षे बाली भन्दा हिउँदमा लगाईने गरमा धानले राम्रो उत्पादन दिने गरेको किसानहरुको अनुभव छ । प्रति बिग्घा १ सय मनसम्म गरमा धान फल्ने गरेको धनपालथान–५ की किसान लखियादेवीको भनाई छ ।

यसक्षेत्रका किसानले बर्षभरिमा बर्षे र हिउँदेगरि दुई बाली धान र एकबाली दलहन समेत लगाउने गरेको बताएका छन । यसक्षेत्रका किसान हिउँदमा गरमा धान लगाउनुका साथै बंगलादेशमा फलाईने बोरो धान समेत लगाउने गरेका छन । बोरो धान नेपालमा मोरङको रंगेली र सुनबर्षी नगरपालिकामा मात्र लगाउने गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ ।

गएको बर्ष मोरङका किसानले २ हजार हेक्टर क्षेत्रफलमा बोरो धान लगाएपनि यसबर्ष घटेर एकहजार हेक्टरमा मात्र सो धान लगाइएको अनुमान गरिएको छ । मकै खेतीको बिस्तारसंगै बोरो धान लगाउने किसानको संख्या घटेको भुमि ब्यवस्था तथा कृषि,सहकारी मन्त्रालयलयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् ।

धानको राम्रो उब्जनी हुने यसक्षेत्रमा किसानहरुलाई थप सहुलियत र सुबिधा उपलब्ध गराउनसके उब्जनी थप बढाउन सकिन्छ । बर्षेनी धान चामलको आयात डरलाग्दोरुपमा बढिरहेको सन्दर्भमा त्यसलाई निरुत्साहितगर्न भएका खेतहरुको संरक्षणगरि किसानलाई प्राबिधिक सरसल्लाहका साथै गुणस्तरिय बिउबिजन समेत उपलब्ध गराउन आवश्यक छ ।