अदालतको फैसलाले संविधान मजबुत बनाएको छ : पूर्वराष्ट्रपति यादव

१४ फाल्गुन २०७७, शुक्रबार

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन,’ उनले भने, ‘म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।’

यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुसी दिएको बताए । उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुसी भएका छन् ।’

संविधान जारी गर्दाको समयको स्मरण गर्दै उनले भने, ‘मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुसी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेशवादी दल छाडेर तत्कालीन नेकपा (एमाले), कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।’

त्यसबेला मधेशी दलले संविधानप्रति आपत्ति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेशी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको उनको भनाइ थियो । ‘मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ,’ उनले भने ।

भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै उनले भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरण दिए ।