प्रवीण बाँस्तोला मृत्यु प्रकरण : मिसिलमा भुलवश अर्कै मान्छेको फोटो परेको छानबिन समितिको निष्कर्ष

१८ फाल्गुन २०७७, मंगलवार

मोरङ उर्लाबारी-५ का प्रवीण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले भुलवश मृतकको फोटो परिवर्तन भएको प्रतिवेदन बुझाएको छ ।

५ पुसमा मृत्यु भएका बाँस्तोलाको मिसिलमा अर्कैको फोटो टाँसेको भन्दै उनका परिवारले प्रहरीको अनुसन्धानमाथि नै शंका गरेका थिए । त्यसपछि प्रवीणको मृत्युबारे अनुसन्धान गर्ने प्रहरीमाथि मोरङ प्रहरीले छुट्टै समिति बनाएको थियो । सोही समितिले प्रवीणको मिसिलमा सोही दिन करेन्ट लागेर मृत्यु भएका अर्का व्यक्तिको फोटो भूलवश परेको प्रतिवेदन तयार पारेको हो ।

मोरङ प्रहरीले डीएसपी मानबहादुर राईको नेतृत्वको छानबिन समितिले गठन गरेको थियो । सोही समितिले सोमबार प्रतिवेदन बुझाउँदै फोटो भुलवश फरक पर्न गएको खुलाएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रवीणकी बहिनी सदीक्षा बाँस्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक व्यक्तिको फोटो राखेको दाबी गर्दै दाजुको मृत्यु नभएर हत्या भएको दाबी गर्दै आएकी छिन् ।

प्रवीणको मृत्युको घटनाका विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल खटिएका थिए । ४ पुसमा साथीको डेरामा सुतेका प्रवीणको राति मृत्यु भएको थियो । पोस्टमार्टमको रिपोर्टले भने ‘निसास्सिएर मृत्यु’ भएको देखाएको छ । तर, प्रवीणका परिवारले उनको हत्या भएको बताउँदै आएका छन् ।

प्रवीणको हत्याको आरोपमा एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने १९ वर्षीय सुदीप परियार मोरङको कानेपोखरी गाउँपालिका- ७, रमाइलोबाट सोमबार राति पक्राउ परेका छन् । प्रवीणका परिवारले छ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।