कम्तिमा एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

३ बैशाख २०७८, शुक्रबार

काठमाडौं, बैशाख ३ : काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साता बन्द गर्न आग्रह गरेको छ । विद्यार्थी र शिक्षकमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले शुक्रबार परिपत्र गर्दै संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन् । महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड–१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने – सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नुरगराउन हुन पनि अनुरोध गरेको छ ।