प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फेरि अविश्वासको प्रस्ताव ल्याउने तयारी

७ बैशाख २०७८, मंगलवार

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फेरि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितदलहरू अविश्वास प्रस्ताव ल्याउने बारे तयारी गरिरहेका हुन्।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्तापछि चैत २६, २७, ३० र वैशाख ५ गतेको संसद बैठक चल्न सकेन। विपक्षीले निर्वाचन क्षेत्र विकासको बजेट कटौतिको विषयलाई लिएर नियमित रुपमा संसद बैठक अवरुद्ध गर्दै आए। संसद बैठक सुचारु गर्नका लागि सभामुख प्रदिपकुमार भण्डारी र मुख्यमन्त्री राईले सर्वदलिय बैठक राखेर सहमतिको प्रयास गरे पनि सफलहुन सकेनन्  विपक्षीले संसद अवरुद्ध कायमै राखेपछि सरकारले वैशाख ५ गते संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्‍यो ।

संसद अधिवेशन अन्त्य लगतै विपक्षीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले संकेत गरेका छन्।

प्रदेश १ मा ९३ सदस्यीय संसदमा एमालेसँग सभामुख सहित ५१ जना सदस्य छन्। नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, जसपासँग ३, संघीय लोकतान्त्रिकसँग १ गरि ४० जना सांसद छन्। माओवादीले टंक आङवुहाङ एमालेमा प्रवेश गरेपछि उनलाई सांसद पदबाट हटाएपछि संसदमा ९२ सांसद छन्। मुख्यमन्त्री राईविरुद्धको अश्विास प्रस्ताव पारितका लागि ४६ मत आवस्यक छ। जुन विपक्षीसँग पुग्दैन। तर, कर्णाली प्रंदेशमाझै फ्लोर क्रस गरेर सघाउने एमालेको नेपाल–खनाल पक्षले वचन दिएको भन्दै विपक्षी हौसिएका छन्।

कांग्रेस र माओवादीवीच कांग्रेस संसदीय दलका नेता राजिव कोइरालालाई मुख्यमन्त्रीमा प्रस्ताव गरेरअघि बढ्ने सहमति भएको श्रोतले दावी गरेको छ। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सरकारले संसद छल्ने काममात्र गरेकाले मुख्यमन्त्री राईको विकल्प बारे संसदीय दलको बैठकमा छलफल भएको बताएका छन्।