Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

प्रदेश १ का निजी अस्पताल कोरोनाका बिरामीले भरिए, सरकारी अस्पताल खाली

2021-05-04 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ३५६ पुगेको छ।

तीन हजार १२७ जना संक्रमित होमआइसोलेसनमा छन्। यो भनेको करिब ९३ प्रतिशत हो। सात प्रतिशत संक्रमित मात्रै अस्पतालमा भर्ना भएका छन्।

सामाजिक विकास मन्त्रालयको सोमबारको तथ्याङ्कअनुसार २२९ संक्रमित अस्पतालमा भर्ना भएका  छन्। भर्ना भएकाहरू पनि धेरै निजी अस्पतालमा छन्।

विराट मेडिकल कलेजमा ६० संक्रमित भर्ना भएका छन्। उनीहरूमध्ये २१ जना आईसीयु र सात जना भेन्टिलेटरमा रहेको कलेजका कोभिड–१९ सम्पर्क व्यक्ति सुनिल देवले जानकारी दिए।

उनका अनुसार ३२ जना नर्मल बेडमा उपचाररत छन्। नोबेल मेडिकल कलेजमा ६५ जना भर्ना भएका छन्। उनीहरूमध्ये ३९ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा छन्।

२१ जना नर्मल बेडमा रहेको अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति दीपेश न्यौपानेले बताए। प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३५ जना संक्रमित भर्ना भएका छन्। उनीहरूमध्ये १३ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन्।

अन्य संक्रमित नर्मल बेडमा रहेको कोभिड अस्पतालका संयोजक बैजनाथ साहले जानकारी दिए।

१८० बेडको कोभिड अस्पतालमा निजी अस्पतालको तुलनामा कम संक्रमित भर्ना भएका छन्। कोशी कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितहरू राखिने गरेको कोभिड संयोजक साहले बताए।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित भएकामध्ये ४१ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १० जना मेची अस्पतालमा उपचाररत छन्। कोरोनाको पहिलो लहरका समयमा सबैको रोजाइको अस्पताल कोशी कोभिड बनेको थियो।

बढ्दै संक्रमणदर

प्रदेश १ मा कोरोना संक्रमण तीव्र रूपमा बढ्दो छ। संक्रमणदर ४५ प्रतिशत पुगेको छ। तर, अस्पताल पुग्नेको संख्या भने न्यून छ।

बेड अभाव भएकै कारण कोरोना संक्रमित अस्पतालमा पुग्न नसकेको विराट मेडिकल कलेजका सहप्रध्यापक डा. सूर्य पराजुली बताउँछन्। निजी अस्पतालमा सञ्चालित कोेभिड अस्पताल पूरै भरिएको उनले बताए।

‘निजी अस्पतालका कोभिड अस्पतालमा संक्रमित भरिए, सरकारीका कोभिडमा चिकित्सक छैन,’ उनले थपे, ‘सरकारी अस्पतालहरूले फोटो मात्र राखेर भएन नि।’ निजी अस्पतालहरू संक्रमितको उपचारका लागि बेड थप गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए।

सरकारले होम आइसोलेसनमा बसेका बिरामीको रेकर्ड राख्न नसक्दा पनि कोभिड नियन्त्रणमा समस्या देखिएको डा. पराजुलीको भनाइ छ। दोस्रो लहरका समयमा सरकारको तयारी पुग्न नसकेको उनले बताए।

निषेध आदेशले केही घटे पनि नियन्त्रण आउन कठिन देखिएको उनी बताउँछन्। कन्ट्याक्ट ट्रेसिङ हुन सकेको भए नियन्त्रणमा सहज हुने डा. पराजुलीको भनाइ छ। सरकारको तयारी सुरुआती चरणदेखि नहुँदाको परिणाम अहिले देखिएको उनले बताए।

प्रदेश सरकारले निर्माण गरेको कोशी कोभिड निजीको तुलनामा राम्रो र सुविधा सम्पन्न भए पनि दोश्रो लहरका संक्रमित रोजाइको अस्पताल बन्न सकेको छैन। समयमा जनशक्तिको व्यवस्थापन हुन नसक्दा त्यसको असर परेको एक चिकित्सकले बताए।

सात अस्पतालमा संक्रमितको उपचार

प्रदेश १ मा कोरोना संक्रमितको उपचार ६ वटा अस्पतालबाट हुँदै आएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड–१९ उपचार  केन्द्र विराटनगर, विराट मेडिकल कलेज बूढीगंगा, न्युरो अस्पताल विराटनगर,  नोबेल मेडिकल कलेज विराटनगर, मेची अस्पताल र बी एण्ड सी अस्पताल झापामा संक्रमितको उपचार भइरहेको छ।

सामाजिक विकास मन्त्रालयका कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा. रविन्द्र निरौलाका अनुसार सातवटा अस्पतालमा ५२४ आइसोलेसन बेड, आईसीयू १२९, भेन्टिलेटर ७० र एचडीयु बेड ९२ वटा छन्।

कोरोनाका संक्रमित बढेसँगै जिल्ला अस्पतालहरूलाई पनि २०–२० बेडको आइसोलेसन केन्द्र निर्माणका लागि आवश्यक बजेटसहितको निर्देशन दिई सकिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय