Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

माहामारीको मौका छोपी विराटनगरमा स्वास्थ्य सामग्रीको कालोबजारी

2021-05-05 12-05 | Hamro Biratnagar                  


A+ A A-

राहुल सोनी/विराटनगर, २२ वैशाख । नयाँ भेरीयन्टको कोरोना संक्रमणले स्थिती भयावय बन्दै गइरहेकाबेला विराटनगरमा स्वास्थ्य सामाग्रीमा कालोबजारी हुनथालेको छ । महामारीको मौका छोपेर केही उद्योगी तथा व्यवसायीले सर्जिकल मास्क, सेनिटाइजर, अक्सिजन लेभल नाप्ने अक्सीमिटर, र संक्रमित विरामीलाई लगाइने रेमडीसिभिरलगायतका सामाग्रीको व्यापक कालोबजारी गर्न थालेको गुनासो बढ्दै गएको छ ।

महामारीको समयमा कम मुनाफा आर्जन गरि उपभोक्तालाई बचाउने भन्दापनि केही उद्योगी व्यपारीले ‘दिन दुई गुणा रात चौगुणा’ को दरले कालोबजारी गर्ने गरेको साना व्यपारी तथा उपभोक्ताहरुको गुनासो छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण सुरु भएको एक महिना वित्न नपाउँदै विराटनगरका केही उद्योगी तथा व्यसायीले विभिन्न स्वास्थ्य सामाग्रीको मुल्य अत्याधिक बृद्धि गरेका छन् । साना तथा खुद्रा व्यपारीहरुका अनुसार केही दिन अघिसम्म सर्जिकल मास्कको उद्योगले लिने मुल्य एक रुपैयाँदेखि डेढरुपैयाँसम्म थियो ।

तर, अहिले सर्जिकल मास्क उद्योगलेनै व्यपारीहरुसँग ४ देखि ५ रुपैयाँसम्म अशुल्न थालेका छन् । महामारीले दैनिक मृत्युदर उच्च बन्दै जाँदा विराटनगरका व्यपारीले भने महामारीलाईनै पैसा कमाउने अबसरका रुपमा लिन थालेका छन् ।

अत्यावश्यक मानिएको स्वास्थ्य सामाग्रीमा व्यपारीहरुले कालोबजारी गरिरहँदा कारवाही हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ ।

केही दिन अघिसम्म संक्रमितमा अक्सिजनको लेभल नाप्ने अक्सिमिटरको मुल्य ५ सय देखि ७ सय रुपैयाँसम्म भएपनि नयाँ भेरियन्टको संक्रमण तीब्र गतिमा फैलँदै गएर माग अत्याधिक हुन थालेपछि यतिबेला १८ सयदेखि २ हजार रुपैयाँसम्म लिन थालेको उपभोक्ताहरुले बताएका छन् । ‘यतिबेला पैसा कमाउने भन्दा पनि मान्छेको ज्यान कसरी बचाउन सकिन्छ भन्ने कुरामा व्यापारीहरुको पनि ध्यान जानुपर्ने हो । पैसा अरु बेला पनि कमाउन सकिन्छ । तर, महामारीले विश्व आक्रान्त भइरहेको बेला चर्को मुल्य अशुल्नु कानुनी र सामाजिक अपराध हो ।’ एक उपभोक्ताले भने,‘गलत तरिकाले कमाएको पैसा काम लाग्दैन । जसले कालोबजारी गर्छ उसलाई एक न एक दिन भगवानले अवश्य सजाय दिन्छन् ।’

त्यसो त कोरोना संक्रमितको उपचारमा प्रयोगहुने रेमडिसिभिर नामक औषधिको समेत कालोबजारी हुँदै आएको विरामीका आफन्तले बताएका छन् । रेमडिसिभिर इन्जेक्सनको बजारमा कृत्रिम अभाव सृजना गरि तीनगुणा बढी मुल्य अशुल्न थालेको विरामीका आफन्तले बताएका छन् ।

रेमडिसिभिरको ‘प्रिन्टेड’ मूल्य ५ हजार ७०० भारु हो । जसको नेपाली मूल्य ९ हजार रुपैयाँ भन्दा बढी हुन्छ । तर, ‘ब्लेक’ मा किन्दा प्रति भाइल २० हजार देखि ५० हजाररुपैयाँ सम्म लिने गरेको संक्रमितका आफन्त बताउँछन् ।

कोरोना संक्रमित विरामीको उपचारमा रेमडिसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । कालोबजारीका कारण सवै भाइलका लागि लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । तर, महामारीको समयमा त्यस्ता कालोबजारीहरुलाई कारवाही हुन नसकेको व्यापक जनगुनासो छ । ‘यस्तो महामारीको समयमा आफु पनि बाँच्ने र अरुलाई पनि बचाउन सक्दो सहयोग गर्नुपर्छ । तर, केही व्यापारीले कालोबजारी गरेर मानवता माथिनै कालो धब्बा लगाएका छन् ।’ उपभोक्ता अधिकारकर्मी नारायण राजवंशी भन्छन्,‘त्यस्तालाई सरकारले कडा भन्दा कडा कारवाही गर्नुपर्छ ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय