Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

नेपाली नागरिकको जग्गा हडप्ने भारतीय विराटनगरबाट पक्राउ

2021-05-05 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : नेपाली नागरिकको जग्गा हडपेर आफ्नो नाममा पार्ने प्रयास गरिरहेका भारतीय विराटनगरबाट पक्राउ परेका छन्।

भारतको अररिया जिल्लास्थित नरपतगन्जका बासिन्दा अनिरुद्ध शर्मालाई प्रहरीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो।

भारतीय नागरिक हुँदाहुँदै किर्ते गरेर सुनसरीको दुहवीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएपछि शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफू नेपाली नागरिक भएको गलत विवरण पेस गर्दै नेपाली नागरिकता लिएका उनलाई कारबाहीको माग राखेर सुनसरीस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी परेको थियो।

उजुरी परेको थाहा पाएपछि उनी दुई सातादेखि फरार थिए। तर लुकिछिपी विराटनगर आएपछि प्रहरीको फन्दामा परेका हुन्। पक्राउ परेकालाई छुटाउन कानुन व्यवसायीदेखि लिएर राजनीतिक दलका नेता र समाजसेवीका नाममा समेत दबाब आउन थालेको प्रहरी स्रोतले बतायो।

शर्माका नाममा रहेको नेपाली नागरिकता बदरका लागि गृह मन्त्रालयमा सिफारिस गरेर थप कारबाही अघि बढाउन प्रशासनबाट पनि अनुसन्धान अघि बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले खटाएको नागरिकता वितरण टोलीमार्फत सुनसरीको दुहवी–६ बाट २०६३ माघ ७ गते नेपाली नागरिकता हात पारेपछि शर्मा परिवारसहित विराटनगर महानगरपालिका–५ चाँदनी चोकमा आएर बस्न थालेका थिए।

प्रहरीले शर्मालाई पक्राउ गरेर कारबाही अघि बढाउन जिल्ला अदालत सुनसरीबाट अनुमति लिएको थियो।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले नागरिकता ऐनअन्तर्गत कारबाही अघि बढाउन अदालतबाट मंगलबार नै म्याद थप गरेर पक्राउ परेकालाई हिरासतमा राख्दै बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनका अनुसार शर्मालाई नेपाली नागरिकता बनाइदिन भूमिका खेल्ने सबैलाई कारबाहीको दायरामा ल्याइनेछ।

नागरिकता दिने सरकारी कर्मचारी, नागरिकताका लागि सनाखत गर्ने तथा भूमिका खेल्ने सबै कारबाहीको दायरामा आउने एसपी थापाले बताए। उनले शर्माको परिवारमा अन्यले पनि नेपाली नागरिकता लिएको हुन सक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जनाए।

अदालतको अनुमतिका आधारमा सुनसरी प्रहरीले शर्मालाई पक्राउ गर्नका लागि मोरङ प्रहरीसँग सहयोग मागेको थियो। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउका क्रममा शर्मा र उनको परिवारका सदस्यले प्रहरीमाथि दुव्र्यवहार गरेका छन्। पक्राउ गरेर शर्मालाई कारबाहीका लागि सुनसरी प्रहरीमा बुझाइएको जानकारी उनले दिए। तर खाली गर्न अटेर गरेका शर्माले उल्टै जग्गा आफ्नो भएको दाबीसहित वडा कार्यालयमा निवेदन दिएका थिए।

वडामा भएको छलफलमा जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पुर्याउन नसकेपछि २०७६ साल चैत मसान्तसम्ममा खाली गरिदिने सहमति उनले गरेका थिए। तर उत्तमकुमारले भने आफ्नी पत्नीका नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पुर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएका छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय