Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

कोरोना संक्रमणले भयावह बन्दै विराटनगर, मन्त्रालयले स्वस्थ्य महाशाखा प्रमुख नपठाउँदा प्रभावकारी काम नभएको गुनासो

2021-05-16 04-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २ जेठ । विराटनगरमा यतिबेला कोरोना संक्रमण दर उच्च छ । विराटनगरमा अहिले दैनिक संक्रमण दर डरलाग्दो रुपमा बढी रहेको छ । तर, कोरोना भाइरसको दोश्रो लहर समुदायस्तरमा पुगेर स्थित भयावह बन्दासमेत विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा भने अझै सुस्त देखिएको छ ।

विराटनगर महानगरको स्वास्थ्य महाशाखा सिनियर अहेवको भरमा सञ्चालन भइरहेका कारण महामारी नियन्त्रणमा उल्लेख्य प्रगति हुन नसकेको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरको स्वास्थ्य माहाशाखाका लागि उप–सचिव सरहको कर्मचारी नपठाउँदा कोरोना महामारी रोकथाम नियन्त्रण र काम प्रभावकारी नभएको विराटनगर महानगरपालिका स्रोतले जनाएको छ ।

महानगरले एक वर्ष अघिदेखिनै स्वास्थ्य महाशाखा प्रमुखका लागि मन्त्रालयसँग पटक–पटक ताकेता गर्दासमेत कर्मचारी नपठाउँदा महामारीको समयमा समस्या परेको महानरपालिकाको गुनासो छ ।

विराटनगर महानगरपालिकाका प्रशासन अधिकृत केवल पोखरेका अनुसार हाल स्वास्थ्य महाशाखा संयोजक रमेश कार्की सिनयर अहेव मात्र हुन् । ‘कार्यालयमा सरुवा र समायोजन पत्र मात्र आउँछ । व्यक्तिगत विवरण आउँदैन ।’ उनले भने,‘समायोजन पत्रमा सिनियर अहेव उल्लेख छ ।’

महाशाखा प्रमुखका लागि योग्यता नपुग्ने भएपनि वरिष्ठताका आधारमा उनलाई तत्कालिन प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले छैठौँ तहको अधिकृतको हैसियतमा महाशाखा संयोजकको जिम्मेवारी दिएका थिए ।

कार्कीको योग्यता नपुग्ने भएपनि राजनीतिक दवावकै कारण उनलाई महानगरले स्वास्थ्य महाशाखा संयोजक बनाएको स्रोतको दावी छ । स्रोतका अनुसार महाशाखा प्रमुख योग्य कर्मचारी नहुँदा अन्य कर्मचारीहरुको मनोवल समेत गिर्दै आएको छ ।

जसका कारण कोरोना माहारीका समयमा महानगरको स्वास्थ्य महाशाखाबाट हुने काम सन्तोषजनक नरहेको स्वयं महानगरका कर्मचारीहरुको गुनासो छ । महाशाखा प्रमुखका लागि आठौँ तहदेखि माथिको अधिकृत हुनुपर्छ । तर, कार्की पानी बढुवा भएर छैठौँ तहका अधिकृत मात्र रहेको श्रोतले जनाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख विहिन भएकै कारण कोरोना संक्रमणले विराटनगरको स्थिती भयावह बनेपनि महाशाखाले अहिलेसम्म ठोस काम गर्न नसकेको स्रोतको दावी छ । स्वास्थ्य माहाशाखा प्रमुख नभएकै कारण महामारिका बेला विराटनगरको समस्या अझ जटिल बन्दै गएको स्रोतले जनाएको छ ।

हालका महाशाखा संयोजक कार्कीको योग्यता सिनियर अहेब मात्र भएकाले चिकित्सक तथा कर्मचारीले उनलाई नटेर्ने गरेको महानगर स्रोतले जनाएको छ ।

महामारी नियन्त्रणमा काम गर्न नसकेको चौतर्फी दवाव र गुनासो आएपनि महानगरले भने स्वास्थ्य महाशाखा प्रमुखविहिन भएका कारण सन्तोषजनक काम हुननसकेको स्वीकार गरेको छ । ‘नगरवासीमा धेरै आक्रोश र गुनासो छ ।’ महानगर स्रोतले भन्यो,‘तर के गर्ने स्वास्थ्य महाशाखा प्रमुख नभएका कारण हा बाँधिए जस्तै छ । एक वर्षदेखि मन्त्रालयलाई ताकेता गरेपनि कर्मचारी पठाएको छैन ।’

महामारी नियन्त्रण र संक्रमितको घर–घर पुगेर स्वयं मेयर पराजुली खटिँदै आएका छन् । तर, स्वास्थ्य महाशाखा प्रमुख नहुँदा कोरोना महामारीका बेला काम सुस्त र प्रभावकारी नभएको महानगरपालिकाको दावी छ ।

यता महाशाखाका संयोजक कार्कीले भने आफुले नेपाल सरकारको स्थायी महानगरमा दरबन्दीमा आएको कर्मचारी भएकाले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले माहाशाखा संयोजकको जिम्मेवारी दिएको बताए । ‘म नेपाल सरकारको स्थायी र दरवन्दीमा आएको कर्मचारी हो । यदि म माहाशाखकाका लागि योग्य थिइन भने जिम्मानै दिनुहुने थिएन नि ।’ उनले भने,‘जिम्मा दिनुभनेको त्यसका लागि लायक छु भनेर हो नि त ।’

उनले तत्कालिन कार्यालय प्रमुखले कार्यक्षेत्र र योग्यता हेरेरनै आफुलाई महाशाको जिम्मेवारी दिएको दावी गरे । ‘कुनैपनि कार्यालय प्रमुखले जिम्मेवारी दिँदा योग्यता र क्षमतालाई हेरेर दिनुहुन्छ कि हचुवाको भरमा ?’ उनले भने,‘त्यो जिम्मेवारी कार्य अगाडी बढाउनका लागि न दिएको हो ? अब कसैलाई के कुरामा चित्त बुझेन त्यसको विषयमा मैले बोल्न जरुरीनै छैन । मैले आफ्नो कार्यसम्पादनको कुरा कार्यालयलाई जवाफ दिने हो । मेरो मुल्यांकन कार्यालय प्रमुखले गर्ने हो ।’

उनले आफुलाई कार्यालय प्रमुखले कार्य सञ्चालन गर्न सक्छु भनेर दिएको जिम्मेवारीमा कसैले प्रश्न उठाउन नमिल्ने बताए । संयोजक कार्कीले गतवर्ष माहामारीमा शाखाले उत्कृष्ट काम गरेको देखिएपनि यस वर्ष केहीले आफ्नो गल्तिको दोष अरुमाथि थोपर्न खोजेको गुनासो गरे । ‘आफुलाई केही पर्दा अर्कोको नाममा दोष थोपरेर दश दुनियाँ भन्दै जाने हाम्रो समाजको चलन छ ।’ उनले भने,‘आफु नाच्न नजान्ने अनि आगन टेढो भनेर हुन्छ ?’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले कर्मचारी नपठाएका कारण भइरहेको सिनियर कर्मचारीले महाशाखाको नेतृत्व गरेको बताए । ‘सरकारले कर्मचारी पठाएको छैन । अर्को नआउन्जेलसम्म त हामीसँग अर्को विकल्प पनि छैन ।’ उनले भने,‘प्रमुखविभिन भन्दा पनि भएको कर्मचारीबाट हामीले काम चलाई रहेका छौँ ।’

हाल विराटनगर महानगरपालिकाले कोभिड संयोजकको रुपमा भने हैदर अलीलाई जिम्मेवारी दिएको छ । गत वर्ष महामारीमा उत्कृष्ट काम गरेकाे भनी हैदर अलि र नगर प्रहरीनिरीक्षक राजन पाैडेललाई महानगरले पुरस्कृत समेत गरेकाे थियाे।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय