Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

डाक्टर, नर्स कुट्नेलाई कारबाही नभए अस्पतालहरूमै आन्दोलन थाल्ने १५ संगठनकाे चेतावनी

2021-05-28 02-05 | Hamro Biratnagar                  


A+ A A-

बाँकेमा क्रियाशील स्वास्थ्य संगठनहरूले भेरी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कुटिपट गर्नेहरूलाई अविलम्ब कारबाही माग गरेका छन् । अन्यथा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा आन्दोलन गर्ने ती संगठनहरूको चेतावनी छ ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश र बाँकेमा क्रियाशील १५ वटा संस्थाले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका हुन् ।

‘मिति २०७८ जेठ १३ गतेका दिन साँझ ८ बजे कोभिड आइसोलेसन वार्डको आइसीयू बेड नम्बर १३ मा उपचारार्थ रहनुभएका डिल्लीबहादुर रावतको मृत्युको विषयलाई लिएर बिरामीका कुरुवासहित ३/४ जनाको समूहले चिकित्सक र नर्सिङ स्टाफहरूमाथि ज्यान मार्ने उद्देश्यका साथ सांघातिक हमला गर्नुका साथै सरकारी सम्पत्तिमाथि क्षति पुग्नेगरी तोडफोड समेत भएको घटनाप्रति खेद व्यक्त गर्दै उक्त घटनामा संलग्न सम्पूर्ण दोषीहरू उपर अविलम्ब कडाभन्दा कडा कार्बाहीको माग गर्दछौँ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

स्वास्थ्यकर्मीमाथि यसअघि पनि बारम्बार दुर्व्यवहार हुने गरेको र यसबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा सुनुवाइ नभएको ती संगठनहरूको गुनासो छ ।

४ जेठदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्त कुरुवासमेत रहेका मानबहादुर रावतसहितको समूहले स्वास्थ्यकर्मीमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका थिए । उनीहरू घाइते छन् । मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको श्रेष्ठले बताए ।

घटनालगत्तै प्रहरीले मानबहदुरसहित तीन जनालाई पक्राउ गरेको छ ।

अहिले भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दाेलित छन् ।  घटनाकाे विराेधमा उनीहरूले आज प्रदर्शन गरे । के स्वास्थ्यकर्मीले सधैं कुटाइ नै खाने हाे ? नाे सेक्युरिटी, नाे वर्क लेखिएका प्लेकार्ड बाेकेर भेरी अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय