Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

उर्लाबारीमा एमाले खनाल -नेपाल समुहको नगर कमिटी घोषणा, अध्यक्षमा गङ्गा बास्तोला

2021-06-06 01-06 | Hamro Biratnagar                  


A+ A A-

इटहरा : नेकपा एमाले खनाल ( नेपाल समुहले उर्लाबारी नगर कमिटी घोषणा गरेको छ । भर्चुअल माध्यमबाट शनिबार भएको अगुवा कार्यकर्ताहरुको बिस्तारित बैठकले गङ्गा बास्तोलाको अध्यक्षतामा २ सय ११ सदस्यीय नगर कमिटी घोषणा गरेको हो ।

कमिटीमा ५ जना पदाधिकारी रहेका छन् भने ५१ जनाको सचिवालय गठन गरिएको छ । सचिवालयमा तीन जनाको स्थान हाललाई खाली राखिएको छ । कमिटीको उपाध्यक्षमा चन्द्रबहाद्र राई र सचिवमा मनोरथ भण्डारी हुनुहुन्छ । त्यसैगरी सहसचिवमा सावित्रा धिमाल र आर्थिक विभाग प्रमुख देवकुमार पाण्डे रहनुभएको छ ।

नगर कमिटीको घोषणापछि रडियो सुनाखरीसँग कुराकानी गर्दै यो कमिटी नै एमालेको अधिकारिक नगर कमिटी भएको नवाघोषित अध्यक्ष बास्तोलाले दाबी गर्नुभयो । सर्वाच्च अदालतको फैसलाबाट नेकपा बदर भई एमाले र माओबादी केन्द्र ब्युँतिएर २०७५ जेठ २ को पूर्ववत अवस्थामा पुगेकाले त्यहि जेठ २ को साबिक नगर कमिटीलाई पुनर्गठन गरिएको उहाँले बताउनुभयो।

साबिक अवस्थामा १२५ सदस्यीय रहेको कमिटीमा ७६ जना थप गरी २ सय १ जनाको कमिटी घोषणा गरिएको र बाँकी १० जना सदस्य र तीन जना सचिवालय सदस्यको मनोनयन कमिटीको अब बस्ने बैठकबाट गरिने अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । पुनर्गठित कमिटीमा साबिकको कमिटीका कुनै सदस्यलाई पनि नहटाइएको र कोही बस्न नचाहेमा उक्त स्थानमा नयाँ पदपूर्ती गरिने पनि उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीले विधीविधान विपरितका स्वच्छाचारी कामकारवाही गरेर पार्टी र राष्ट्रलाई संकटग्रस्त अवस्थामा पुरयाएको र त्यसबाट पार्टी र राष्ट्रलाई बचाउन देशव्यापीरुपमा पार्टी पुनर्गठन अभियान संचालन भइरहेको भन्दै अध्यक्ष बास्तोलाले सोहीअनुरूप आफुहरुले नगर कमिटी पुनर्गठन गरेको जिकिर गर्नुभयो।

आफुहरुले कुनै नयाँ पार्टी बनाउन नचाहेको पनि उहाँले बताउनुभयो । बास्तोलाले भन्नुभयो, ' हामी जस्ता हजारौं नेता कार्यकर्ताको सात दशकको त्याग, उर्जा र मेहनतले आजको नेकपा एमाले निर्माण भएको हो । प्रत्यक नेपालीको घरआँगन र मनमस्तिष्कमा पुगेको यस्तो गौरवशाली पार्टीलाई अध्यक्ष ओली आफै तहसनहस बनाउन लागिपरिरहनु भएको छ । यो दुर्भाग्य हो । हाम्रो अन्तरशंघर्ष यसकै विरुद्धमा हो । पार्टी राइट ट्रयाकमा नआउन्जेल हाम्रो अन्तरसंघर्ष जारी रहनेछ । आफैले निर्माण गरेको पार्टी छोडेर हामी कुनै नयाँ पार्टी बनाउदैनौं । हाम्रो दृढ विश्वास छ - समय लाग्छ तर असल र खराब छर्लंग हुन्छ ।'

भर्चुअल बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्यद्वय जीवन घिमिरे र महेश रेग्मीले ओलीका स्वच्छाचारी गतिविधि र प्रतिगमनका विरुद्ध जारी अभियान र आगामी कार्ययोजनाका विषयमा प्रकाश पार्नुभएको थियो ।


सम्बन्धित खबर