Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

राउटे बस्तीमा अन्य व्यक्ति जान रोक

2021-06-07 05-06 | Hamro Biratnagar                  


A+ A A-

सुर्खेत, जेठ २४ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । लोपोन्मुख राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका हौं ।’

उहाँका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताउनुभयो ।आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

उक्त भिडियो शनिबार राति भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ । युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो भाइरल भएको भोलिपल्ट आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ ।

के छ भिडियोमा रु

आइतबार बिहानै सामाजिक सञ्जालमा राउटे युवतीहरूलाई एउटा कोठामा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा युवक अर्धनग्न अवस्थामा देखिन्छन् । भिडियोमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेर बोलेको आवाज पनि सुनिन्छ । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएको जस्तो देखिन्छ । यतिमात्रै होइन एकजना व्यक्तिले बलजफ्ती रुपमा चुम्बनसमेत गरेको भिडियोमा देख्न सकिन्छ ।

अधवैशे युवाले निर्वस्त्र भएर होटलमा मादक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमती भन्दै अस्वभाविक गतिविधि गरेको भिडियोमा देखिन्छ । उनीहरूलाई सामूहिक रुपमा दुई पुरुषले मेरो गलफेन्ड, मेरो बुढी भन्दै यौन दुर्व्यवहार गरिरहेका छन् । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं। ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय