Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

ओलीलाई बामदेवको आग्रह- २ जेठ २०७५ कै स्थायी कमिटीको बैठक बोलाउनुस्

2021-06-08 10-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २५ जेठ ।नेकपा एमालेका नेता बामदेव गौतमले २ जेठ २०७५ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी गौतमले २ जेठ २०७५ कै स्थायी कमिटीको बैठक बसेर पार्टीभित्रका विवादबारे छलफल गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् ।

‘छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरूमा छलफल गरी सही मार्गदर्शन गर्न अनुरोध छ,’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

गौतमले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परेपनि दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकताबद्ध पार्टी तयार छ भन्ने सन्देश दिने गरी प्रतिबद्धता जनाउनु पर्ने पनि बताएका छन् ।

पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाइने छ भन्ने अध्यक्ष ओलीको अपिललाई कुटिल चातुर्‍यता र जालझेल भन्दै उनले एकताको इमान्दार प्रयास मान्न नसकिने बताएका छन् ।

गौतमले एकताको पक्षमा उभिएका नेताहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संंरचना गतिशील बनाउने भन्ने विषय समस्यामा ल्याउनु अनुचित रहेको पनि बताएका छन् ।

‘जनवर्गीय संगठनहरूका संरचनाका सम्बन्धमा मूलभूत रूपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न,’ गौतमले भनेका छन् । गौतमले पार्टीभित्रको विवाद समाधान पार्टी कमिटीको बैठकबाट मात्रै गर्न सकिने उल्लेख गरेका छन् ।

‘पार्टी एकतापछि दुवै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमीकमजोरीबारे व्यवस्थित आत्मालोचना गरेपछि वास्तविक समाधान हुने आशा गर्न सकिन्छ । यो समस्या समाधानपछि हामीले संसारभरका क्रान्तिकारीहरूका निम्ति नयाँ सन्देश दिन पनि सक्नेछौँ,’ उनले भनेका छन् ।


सम्बन्धित खबर