Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विद्यार्थीलाई पायक पर्ने केन्द्रबाट परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

2021-06-09 02-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ २६ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्न लागेको हो ।

कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको हो, त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको जानकारी दिनुभयो । उहाँले परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

१९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो । त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन । त्रिविमा सामान्य अवस्थामा परीक्षा केन्द्र परिवर्तन गर्न र विद्यार्थीले परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान छ ।

परीक्षा नियन्त्रक जोशीले विद्यार्थीले परीक्षा फाराम भर्नसमेत अनलाइनबाट सम्भव नभएको गुनासो आएपछि आफूहरूले पुरानो परिपाटीबाट तीन घण्टाकै परीक्षा लिने निचोडमा पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिन प्रबन्ध मिलाउन विश्वविद्यालयले यसपटक परीक्षा केन्द्र थप गर्ने भएको छ । यसपटक स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालनका लागि देशभर करिब तीन सय केन्द्र थपिने तयारी गरिएको छ । गत वर्ष २४० वटा परीक्षा केन्द्र तय गरिएको थियो । त्रिबिले मनाङबाहेक सबै जिल्लामा परीक्षा केन्द्र राख्ने जनाएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार जिल्ला हेरी न्यूनतम एक र बढीमा सातवटासम्म परीक्षा केन्द्र तय गरिने छ। स्नातक तह प्रथम वर्षको परीक्षा सकेपछि भदौबाट अन्य तहका परीक्षा क्रमशः सञ्चालन गर्दै जाने योजना विश्वविद्यालयको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय