Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सुनसरीका सीमा नाकाबाट भरततर्फ चाइनिज स्याउ तस्करी हुने गरेको खुलासा, चार दर्जन बढी सुरक्षाकर्मी अनुसन्धानको दायरामा

2021-06-13 07-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३० जेठ । चाइनिज स्याउ भारतीय क्षेत्रमा पक्राउ परेसँगै नेपाली सीमा क्षेत्रमा कार्यरत चार दर्जन बढी सुरक्षाकर्मी अनुसन्धानको दायरामा तानिएका छन् । आइतबार भारतको बिरपुर खण्डमा तीनवटा नेपाली नम्बर प्लेटका ट्रक चाइनिज स्याउसहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

सोही स्याउ तस्करीको क्रममा नेपाल तर्फको भूमि प्रयोग भएको प्रारम्भिक सूचनाका आधारमा मातहतका सुरक्षाकर्मी अनुसन्धानमा तानिएका हुन् । सोहि घटनाका विषयमा नेपाल प्रहरीका ३४ र सशस्त्र तर्फका १५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले श्रीपुर, हरिपुर र भाण्टावारी नाकामा खटिदै आएको प्रहरी टोलीलाई जिल्ला तानिएको जनाएको छ । सुनसरी प्रहरी प्रमुख कमल थापाले श्रीपुर र हरिपुरमा रहेको असई नेतृत्वको १४ जनालाई छानविन तथा अनुसन्धानको लागि दुहवी गणमा पु¥याइएको बताए ।

सइको कमाण्डमा रहेको सीमा प्रहरी चौकी भाण्टाबारीको २० जनाको टोलीलाई समेत अनुसन्धानको लागि तानिएको उनले जानकारी दिए ।

प्रहरी प्रमुख थापाले अनुसन्धानकालागि प्रहरी तानिएका चौकीहरुमा जिल्ला र विराटनगरस्थित रानी गणबाट जनशक्ति ल्याई ड्यूटीमा खटाइएको बताए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले तस्करीको विषय सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिए ।

पौडेलले कुन क्षेत्रबाट ट्रक गएको भन्ने विषय नखुलेपनि बिरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले कोशी, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्यूटीमा रहेका १५ जनालाई फिर्ता बोलाइएको बताए । एसपी पौडेलले बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान थालिएको जानकारी दिए ।

यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनालाई गम्भिर रुपमा लिएको बताए । उनले सुरक्षा कमजोरी पत्ता लगाई दोषी उपर कारवाहीको प्रकृया चाल्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको बताए । चाइनिज स्याउ लोड गरिएका तीनवटा ट्रक भारत बिरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आइतबार नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार ट्रकमा १३ सय कार्टुन चाइनिज स्याउ फेला परेको थियो ।


सम्बन्धित खबर