Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

महोत्तरीमा व्यापारीलाई गोली हानेर सुनपसलमा लुटपाट, आक्रमणमा एकै परिवारका पाँच जना घाइते

2021-06-17 12-06 | Hamro Biratnagar                  

A+ A A-

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा अज्ञात समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) चलाएका वीरेन्द्र साहमाथि गाेली र रड प्रहार गरी डाकाहरूको समूहले लाखौँको लुटपाट गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका साहसहित उनकाे परिवारका अन्य चार सदस्य घाइते भएका छन् ।

राति २ बजेको समयमा नौ/दस जनाको समूहमा घरपछाडिको ढोका फोडेर आएका डाकाहरूले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने उनकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए ।

घाइतेहरूलाई गएराति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । डाकाहरूको समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद दुई लाखद रुपैयाँ, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी इकाइबाट डाकाहरू खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय