Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

सुनवर्षीका मेयर १८ वर्ष अध्यक्ष बनेको विद्यालय गोठमा परिणत, फेरीपनि व्यवस्थापन समितिमै ‘आँखा’ (भिडियो रिपोर्टसहित)

2021-06-21 12-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ५ असार । तस्बीरमा देखिएको स्थान मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगास्थित श्री माध्यामिक विद्यालय हो । यो विद्यालयमा हाल सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दासले लगातार १८ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरेको हो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

तर, स्थानीयका अनुसार मेयर दास लगातार १८ वर्षसम्म सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । र, यतिबेला सो विद्यालयको अवस्थाले मेयर दासलाई बारम्बार गिज्याई रहेको छ । अहिले सो विद्यालय वस्तुभाउ बाँध्ने गोठ हो कि विद्यालय भनेर छुट्याउन हम्मेहम्मे पर्छ ।

विद्यालयको भित्तामा नाम नभएको भए छुट्याउनै नसकिने अवस्था छ । चुनावका समयमा नगरवासी माझ आफ्नो गाउँठाउँको चौतर्फ विकास गर्छु भनेर मेयर दास निर्वाचित भएपनि सो विद्यालयको अवस्था हेर्दा कत्तिको विकास भएको छ भनेर जो कोहिले पनि सहज अनुमान लगाउन सकिन्छ ।

मेयर दासको आफ्नै घर नजिकै रहेको सो विद्यालय यतिबेला गाईवस्तु बाँध्ने गोठ बनेको छ । विद्यालय भवनहरु जिर्ण छन् । विद्यालयका पर्खाल कति बेला भत्किएर ढल्ने हो कि भन्ने चिन्तामा अभिभावकहरु छन् । विद्यालयका अधिकांश कक्षा कोठाहरु जिर्ण बनेर चिरा परेका छन् ।

विद्यालय लागेको समयमा विद्यार्थीहरु कतिवेला भवन भत्किने हो भन्ने त्रासै त्रासमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । सो विद्यालयको अवस्थाले कुनै पनि बेला भवन भत्किएर ठुलेै दुर्घटना हुनसक्ने जोखिम छ ।

तर, सो विद्यालय व्यवस्थापन समितिको झण्डै दुई दशकसम्म अध्यक्ष रहनुभएका मेयर दासले भने विद्यालयको मर्मत र पुननिर्माणमा चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीय गान्धी सिंहले वर्षौँसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा केही गर्न नसकेका मेयर दासले फेरी पनि अध्यक्ष बन्न चलखेल गरिरहेको आरोप लगाए ।

स्थानीयका अनुसार लगातार व्यवस्थापन समितिको अध्यक्ष भएर पनि विद्यालयको विकासका लागि केहि गर्न नसकेका मेयर दास फेरी आफै अध्यक्ष बन्ने दाउमा लागेपछि यतिबेला विवाद सुरु भएको छ ।

गलत प्रकृयाबाट मेयरमा बहाल रहेकै बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न खोजेपछि मेयर दास यतिबेला चौतर्फी आलोचनाको पात्र बनेका छन् । वडा कार्यालयलाई सुईँको समेत नदिई नगरको उच्च ओहोदामा रहनुभएका बहालवाला मेयर दासलाईनै समितिको अध्यक्ष बनाउन खोजिएपछि यतिबेला विवाद सुरु भएको हो ।

विद्यालयका प्रधानाध्यापकसँगको मिलेमतोमा मेयर दासलाई अध्यक्ष बनाउन खोजिएको भन्दै विद्यालय व्यवस्थापन समितिका निर्वाचित सदस्यहरुनै रुष्ट बनेका छन् ।

प्रधानाध्यापक पूर्णलाल ताजपुरीले षड्यन्त्रपूर्वक समितिका सदस्यको उपस्थित बिना बसेको बैठकले मेयर दासलाई अध्यक्ष बनाउने गरि सदस्यमा मनोनित गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोकप्रसाद सिंहले बताए । उनले समितिका बहुमत सदस्यहरु विना बसेको बैठकले मेयर दासलाई मनोनित गरेपछि निर्णयमा असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपनि जबरजस्ती गर्न खोजेपछि माइन्यूट नै लिएर हिँडेको र वडा कार्उालयमा बुझाईदिएको बताए ।

सुनवर्षी नगरपालिकाको कार्यविधि अनुसार अभिभावकको भेलाबाट दुई महिला र दुइ पुरुष गरि चारजना, एक जना वडाअध्यक्ष वा वडासमितिले तोकेको प्रतिनिधि, विद्यालयलाई सहयोग गर्ने शिक्षाप्रेमी चन्दादाता दुई जना, विद्यालयमा कार्यरत शिक्षक मध्ये एक जना र प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान छ ।

तर, अभिभावकको भेलाबाट निर्वाचित सदस्य तथा वडाप्रतिनिधि बेगर बसेको बैठकले मेयर दासलाई पछि अध्यक्ष बनाउने नियतले मनोनित गरेपछि विद्यालयमा विवाद सुरु भएको स्थानीय अभिभावकहरु बताउँछन् ।

गत जेठ २४ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो । सो बैठकमा विद्यालयका प्रधानाध्यापक पूर्णलाल ताजपुरिता सहित समितिका अन्य २ जना गरि तीन जनाको मात्र उपस्थिती थियो । समिति सदस्यका अनुसार समितिकी एक जना समदस्य बैठकमा उपस्थित थिइनन् र उनको सट्टामा उनका पति बैठकमा सहभागि थिए ।

घरमा छोरिको विवाह रहेकाले अर्को एक जना सदस्य कृष्णदेव ठाकुर उपस्थि हुन सकेनन् । अन्य दुई २ जनालाई बैठकमा आमन्त्रीत सदस्य राखेर गलत ढंगले बहुमत देखाएर निर्णय गर्न खोजेपछि सवैको उपस्थितीमा मात्र निर्णय गर्नुपर्ने भन्दै असहमति प्रकट गरेको सदस्य सिंहले बताए । अर्का सदस्य कृष्णदेव ठाकुरले गलत ढंगबाट भएको निर्णयमा आफ्नो सहमति नहुने बताए ।

सोही बैठकमा प्रधानाध्यापक ताजपुरियाले गलत नियत राखेर एक जना सदस्य र वडाको प्रतिनिधि विनै बहुमत देखाएर मेयर दास र बेगम खातुनलाई सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेपछि अर्को सदस्य अशोकप्रसाद सिंहले सवैको उपस्थितीमा मात्र निर्णय गर्नुपर्ने भन्दै असहमति प्रकट गरेको बताए ।

वडाध्यक्ष प्रकाशयादवले एक जना वडासमितिको अनिवार्य प्रतिनिधि रहनुपर्ने भएपनि गलत नियतका कारण आफुहरुलाई बैठकबारे कुनै जानकारी नगराइएको बताए । उनले गलत प्रकृयाबाट भएको निर्णय वडालाई मान्य नहुने चेतावनी दिएका छन् ।

स्थानीय बर्तलाल राजवंशीले गलत नियतका साथ मेयर दाससहित दुई जना सदस्यलाई वडासमितिका प्रतिनिधिलाई जानकारीनै नगराई गलत नियतले मनोनित गरिएको आरोप लगाए । उनले मेयर दास सिंगो नगरको अभिभावक मात्र नभएर स्थानीय सरकारको प्रमुख भएका कारण विद्यालय व्यवस्थापन समिति जस्तो सानोतिनो कुरामा अल्झिन उचित नदेखिएको बताए ।

यता विद्यालयका प्रधानाध्यापक ताजपुरियाले भने प्रकृया अनुरुपनै समितिलाई पूर्णता दिइएको दावी गरे । उनले आफुहरुले कुनै गलत कामन नगरेको ठोकुवा गरे । स्थानीय सरकारको प्रमुख भएकाले मेयर दास विद्यालय व्यवस्थापन समितिमा बस्न नहुने स्थानीय अभिभावकहरुको भनाई छ ।

वर्षौँसम्म व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि विद्यालयको विकासमा ठोक काम गर्न नसकेका कारण फेरी मेयर दासलाई कुनैपनि हालतमा समितिको अध्यक्ष स्वीकार नगर्ने पक्षमा अधिकांश अभिभावकहरु छन् । त्यसैले स्थानीय सरकारको प्रमुख भएर विद्यालय व्यवस्थापन समितिमा आँखा लगाउनुभन्दा नगरको चौतर्फी विकासमा ध्यान दिन जरुरी रहेको अभिभावकहरुले माग गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय