Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

चितवनमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु

2021-07-02 10-07 | Hamro Biratnagar                  

A+ A A-

लगातारको वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो र डुबानमा परेर ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता भएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्वी चितवनका सयौं घर डुबानमा परेको जानकारी दिए। नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले दर्जनौंको उद्धार गरेका छन्। बिहीबार अपरान्ह पानीको सतह केही कम भए पनि पुनः पानी परेकाले बाढीको थप जोखिम बढेको छ।

तीन दिनदेखि लगातार परेको भारी वर्षाले चितवनका सातै पालिकामा क्षति गरेको छ। राप्ती नगरपालिका–१२ मा पहिरोले एकै घरका चार जनालाई बगाएको छ, जसमध्ये एक जनाको शव भेटिएको छ।

रत्ननगरको पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ। राजमार्गमा रहेको पक्की पुल नै बाढीले भत्काएको छ। खैरहनीमा रहेको बाबा ग्यास उद्योग नै डुबानमा परेको छ भने सिलिन्डर ग्यासहरु बाढीले बगाएको छ। भरपुर–११ र १२ का सयौँ घर डुबानमा परेका छन्। कालिका नगरपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ।

इच्छाकामनामा ठाउँठाउँमा पहिरो खसेर कयौँ परिवार विस्थापित भएका छन्। माडीमा रहेका सबै खहरे खोलाहरु बढेर स्थानीयमा त्रास फैलिएको छ। नारायणी नदी नबढेका कारण तत्काल नारायणी नदी तटीय क्षेत्रहरुमा जोखिम कम छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार बाढीपहिरोले चितवनको राप्ती नगरपालिकमा पहिरोमा परेर चार जना बेपत्ता भएका छन् भने एक जना महिलाको शव भेटिएको छ। महिलाको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको थियो।

वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दीप चेपाङले जानकारी दिए। विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।

त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थित छेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ।

यस्तै, राप्ती नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। राप्ती–९ निवासी वर्ष ४५ की बिजुलीमाया श्रेष्ठको आफ्नो घरनजिक खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए। चट्याङ लागेपछि गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाइ छ।

राप्ती प्रमुख प्रभा बरालले लोथर खोला र राप्ती नदीको असर नदेखिएको बताइन् ।

कालिका नगरपालिकामा पहिरोले एक जना बेपत्ता बनाएको छ। कालिका–११, दानेटार बस्ने वर्ष ५१ र ५२ को ज्ञानबहादुर चेपाङलाई आफ्नो घरबाट आफन्तको घर जाने क्रममा माथिबाट खसेको पहिरोले बेपत्ता बनाएको चितवन प्रहरीले जनाएको छ।

लदरी खोलामा आएको बाढीले चितवनका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। राप्ती–९ का ४८ वर्षीय भरतकुमार क्षेत्रीको ४ कोठाको एकतले टिनले छाएको २ वटा कोठा बगाएको छ।

पूर्वी चितवनको सयौं हेक्टरमा लगाइएको कृषि बालिमा क्षति पुगेको छ।  अझै पनि बाढी आउने र डुबान हुनसक्ने भन्दै चितवन प्रशासनले सबैलाई सचेत हुन आग्रह गरेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय