Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार पुगे भीम रावल

2021-07-04 11-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न असन्तुष्ट माधव कुमार नेपाल समूहका नेता भीमबहादुर रावल बालुवाटार पुगेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न नेता रावल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधानबारे वार्ता गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपालका विश्वासपात्र रावललाई बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि आग्रह गरेका थिए । तर, नेता नेपालले प्रधानमन्त्री ओलीको प्रस्तावलाई बेवास्ता गरेपछि उनीनिकट नेता रावललाई वार्ताका लागि बोलाइएको हो ।

एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समावेश नेपाल समूहका २३ सांसदको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ ।

पार्टीले दिएको अल्टिमेटम सकिनु एकदिन बाँकी छँदा रावललाई वार्ताका लागि बोलाइएको हो । यसअघि शनिबार नेपाल समूहले सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने बताइसकेको छ ।

नेपाल समूहका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताले प्रधानमन्त्री ओलीलाई नेता रावलसँग कुरा गर्न सुझाएको स्रोतको दाबी छ ।

यसअघि आइतबार बिहान नेता नेपाललाई भेटेर अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले दुई नेता मिल्नुको विकल्प नभएको भन्दै समझदारीको वातावरण बनाउन आग्रह गरेका थिए ।  उनीहरूले  नेपाल एमालेमा फर्किए उनकै सुझाव अनुसार पार्टी चलाउने र त्यसका लागि आफूहरूले वातावरण मिलाउने कुरा राखेको प्रस्ताव नेपालसमक्ष राखेका थिए ।

तर,  नेपालको नेपालसँग उनीहरूको आग्रह थियो, एमाले एकताको विषयमा अध्यक्ष ओली र नेपालले संयुक्त विज्ञप्ति जारी गरुन् । नेता नेपालले उनीहरूलाई भनेका थिए , 'एकताका लागि वार्ता गर्ने कार्यदल ब्युँताउनुस्, त्यहाँबाट संयुक्त विज्ञप्तिको मस्यौदा तयार गर्नुस् अनि सोचौँला ।'

नेता नेपालले अन्य साथीहरूसँगको परामर्शपछि आफ्नो धारणा बताउने ओली पक्षका नेताहरूलाई बताएका थिए ।  खनाल-नेपाल समूहलाई प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष ओलीले सोमबारसम्मको समय दिएका छन् । हस्ताक्षर फिर्ता नगर्नेहरू एमाले नरहने उनको चेतावनी छ ।

यता नेता नेपालले आफ्ना निवर्तमान सांसदहरूसँग छलफल गर्दै बरू नयाँ पार्टी खोलेर केही समयमा बलियो बनाउन सकिने तर यथास्थितिमा ओलीसँग मिल्न नसकिने बताएका थिए । हस्ताक्षर फिर्ता गरेर एमालेमा फर्किनु मृत्युपत्रमा हस्ताक्षर गरेबराबर हुने नेता नेपालको भनाइ थियो ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आ-आफ्नै अडानमा अडिक रहेपछि एमालेको एकता संकटमा छ । नेता नेपाल अध्यक्ष ओलीसँग नझुक्ने पक्षमा छन् भने अध्यक्ष ओली नेपाललाई नपर्खिने पक्षमा छन् । शनिबारको केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका छन्, 'यात्रा अघि बढाउँदै गए नयाँ साथीहरू पनि भेटिन्छन् । उहाँहरूलाई नै पर्खिनुपर्ने कुनै बाध्यता छैन ।'

एमाले मिलाउन दोस्रो तहका नेताहरूले प्रयत्न जारी राखेपनि उनीहरूको प्रयासमा नेताहरूको अडान चुनौती बनेको छ । सोमबार अपराह्न पाँच बजेसम्म हस्‍ताक्षर फिर्ता नभए एकता नहुने घोषणा अध्यक्ष ओलीले गरिसकेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय