Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

डेढ वर्षदेखि बन्द रहेको विराटनगरको अन्नपूर्ण एकेडेमीमा अरुण राठीको प्रवेश, ६० प्रतिशत लगानी

2021-07-05 01-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २१ असार । उत्पादनमूलक उद्योग र आयात व्यापारमा मात्र केन्द्रित रहँदै आएका विराटनगरका व्यावसायिक समूह क्रमशः शिक्षा क्षेत्रतिर पनि लगानी बढाउन दिन थालेका छन्। विराटनगरमा १२ वर्षअघि स्थापना गरिएको डीपीएस स्कुलका सञ्चालकमध्येका अरुण राठीले पछिल्लो समयमा विराटनगरमै अर्को एक स्कुलमा लगानी थपेका छन्।

राठीले अन्नपूर्ण एकेडमीको ६० प्रतिशत सेयर खरिद गरेका हुन्। स्कुलमा उनले २५ करोड लगानी गर्नेछन्। अन्नपूर्ण एकेडमी विराटनगरका चल्तीका स्कुलमध्ये पर्छ। अरुण विराटनगरमा राठीकोल, राठी स्विच र राठी वायर लगायतका उत्पादन उद्योगमा संलग्न छन्। विराटनगरको बरगाछी चौकबाट उत्तरमा पर्ने १५ कट्ठा जमिनमा अन्नपूर्णको नयाँ भवन निर्माणाधीन अवस्थामा छ।

‘कोभिडका कारण अन्नपूर्ण बन्द भएको डेढ वर्ष भएको थियो,’ उनले भने, ‘संस्थामा हामी आएपछि २ महिनादेखि स्कुल सुचारु भइसकेको छ। हाल कक्षा ६ सम्म हामीले भर्चुअल क्लास गरिरहेका छौं।’

अरुणका अनुसार दसैंअगाडि नै स्कुल आफ्नै भवनमा सञ्चालनमा आइसक्नेछ। एक वर्षपछि कक्षा १० सम्मकै विद्यार्थी भर्ना लिने र २ वर्षभित्र १२ सम्मको अध्ययन अध्यापन सुरु गर्ने लक्ष्य राखिएको छ। स्कुलको पूर्ण क्षमतामा विद्यार्थी भर्ना लिँदा ८ सय अध्ययनरत हुने उनले बताए।

‘विद्यार्थीहरू किन अध्ययनमा रुचि राख्तैनन्,’ राठीले सुनाए, ‘हामी मनोवैज्ञानिक अध्ययन गरेर तथ्य पत्ता लगाएर अध्यापन गराउनेछौं। त्यसैले हाम्रो अध्यापनको शैली पृथक हुनेछ। विद्यार्थीहरू खेल्न र मनोरञ्जन गर्न मन पराउने हुँदा हामी शिक्षाप्रद खेल र मनोरञ्जनलाई प्राथमिकता दिनेछौं। यसका साथ हरेक विद्यार्थीमा संस्कार र मूल्यको विकास गर्नु हाम्रो उद्देश्य हुनेछ।’

उनले नेपालका सीमान्त क्षेत्रमा खुलेका शैक्षिक संस्थानले भारतीय विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी तयार पारेको पठनपाठनको मोडेललाई सरकारले स्वीकृति दिनुपर्ने धारणा राखे।

बाह्र वर्षयता विराटनगरका उद्योगीले शिक्षा क्षेत्रमा लगानी गर्न तत्परता देखाएका थिएनन्। हाल राठी समूहले बन्द रहेको अन्नपूर्ण एकेडेमी किनेपछि शिक्षा क्षेत्रमा व्यवसायिक घरानाको आकर्षण कायमै रहेको देखिएको छ।

विराटनगरमा हाल नाम चलेकामध्ये डीपीएस स्कुलमा विशाल, मुन्दडा र राठी ग्रुपको संयुक्त लगानी छ।

डीपीएस स्कुल आउनुभन्दा ४ वर्षपहिले गोल्छा हाउसकी राजलक्ष्मी गोल्छाले युरो किड्स स्कुलको स्थापना गरेकी थिइन। कोभिडका कारण युरो स्कुल हाल बन्द गरिएको छ।

त्यसपूर्व २०५२ सालमा एमसी ग्रुपका नरेन्द्र तोदीले डीएभी स्कुल सञ्चालनमा ल्याएका थिए। लामो समयपछि आफ्नै भवन बनाएर नयाँ भौतिक पूर्वाधारसहित डीएभी सञ्चालनमा छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा नेपालमा सबै राजनीतिक पार्टी र सरकारले शिक्षामा गरिएको लगानीलाई सुनिश्चित नगरेसम्म निजी क्षेत्रले आक्रामक रूपमा लगानी ल्याउन नसक्ने बताउँछन्।

‘शिक्षा क्षेत्रमा गरिएको लगानीका बारेमा राजनीतिक दलको धारणा एउटै छैन,’ उनले भने, ‘कसैले राष्ट्रियकरण भन्नुहुन्छ र कसैले अरू नै केही। त्यसैले ठूला लगानीकर्ता शिक्षा क्षेत्रमा आउन हच्किरहेका छन्।

मुन्दडाले नेपालमा सरकारले नै संस्थागत विद्यालयको पनि शुल्क निर्धारण गरिदिने हुँदा महँगा विद्यालयमा आफ्ना सन्तानलाई पढाउन इच्छा गर्ने अभिभावकले विद्यार्थीलाई भारतका विद्यालयमा पुर्याउने गरेको स्पष्ट पारे।

उनले अहिले पनि विद्यालयस्तरमा मात्र नेपालका १ लाख विद्यार्थी भारतका ठूला शहरमा अध्ययनरत रहेको दाबी गरे ।

–बिजमाण्डुबाट


सम्बन्धित खबर