Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रदेश १ः माओवादी केन्द्रले आज पनि गर्‍यो संसद बैठक अवरुद्ध

2021-07-05 04-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २१ असार । विपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार संसद बैठक अवरुद्ध पारेपछि सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट पास हुने नहुने अन्योलमा परेको छ ।

प्रदेशसभामा १५ सिटमा खुम्चिएको माआवादी केन्द्रले आफ्ना सांसदमाथि भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले  अमर्यादित टिप्पणी गरेको भन्दै लगातार संसद अवरुद्ध गरेपछि बजेट अन्योलमा परेको हो । लगातार तीनवटा बैठक अवरुद्ध पारेको माओवादी केन्द्रले सोमबारको बैठक पनि अवरुद्ध पारेको हो ।

मन्त्री गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । मन्त्री गुरुङले १३ असारमा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि टिप्पणी गरेका थिए । सो दिन मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी पार्टीका नेता जयराम यादवले तत्काल नियमापत्ति जनाएका थिए ।

त्यसयता माओवादी केन्द्रले १४, १५, २० र २१ असार (आज) का चारवटा बैठक अवरुद्ध पारेको छ । माओवादी केन्द्रका सांसदहरूले सोमबार पनि बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए । माओेवादी सांसदहरूले अवरुद्ध पारेपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थागित गर्दै अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकेकी छन् । बैठकमा विनियोजन विधेयक २०७८-७९ अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।


सम्बन्धित खबर